मंसिरमा ६६ हजार युवा बिदेशीए,सबैभन्दा बढी कतारमा

काठमाडौंः वैदेशिक रोजगारीका लागि मंसिरमा करिब ६६ हजार युवा विभिन्न मुलुक गएका छन् । देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा कामका लागि विदेश जाने युवाको संख्या यति धेरै भएको हो ।
नेपाल वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा मात्रै वैधानिक रूपमा श्रम स्वीकृति लिएर ६५ हजार आठ सय ९१ युवा कामको खोजिमा बिदेसिएका छन् । सरकारले रोजगारीका लागि एक सय १० भन्दा बढी मुलुक खुला गरेको छ ।
विभागका अनुसार मंसिर महिनामा मात्रै नयाँ भिसामा ३० हजार सात सय ७६ जना युवा बिदेसिएका छन् । यसमध्ये सबैभन्दा बढी कतारमा ११ हजार सात सय १६ र मलेसिया सात हजार ७३ जना गएका छन् ।
यसैगरी एक पटक विदेश गई बिदामा नेपाल आएपछि पनि पुनः श्रम स्वीकृत लिएर ३२ हजार दुई सय ४१ जना युवा गएका छन् । व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएर नौ सय २० जना र व्यक्तिगत रूपमा वैद्यानीकरण गरी श्रम स्वीकृति लिएर एक हजार नौ सय ४४ जना युवा विदेश पलायन भएका छन् ।
कात्तिकमा ५९ हजार एक सय ८२, असोजमा ४२ हजार दुई सय आठ, भदौमा ४९ हजार तीन सय १२ र साउनमा ५१ हजारभन्दा बढी युवा कामकै लागि बिदेसएका छन् ।
रोजगारीका लागि कतार, मलेसिया, साउदी र दुबईमा बढी गएका छन् । मंसिर महिनामा मात्रै नयाँ भिसा तथा बिदामा आई पुनःकतार जानेको संख्या मात्र २२ हजार पाँच सय ६८ छ । यस्तै साउदीमा १५ हजार ६ सय ३७, मलेसियामा १० हजार तीन सय ४६ र दुबईमा १० हजार आठ सय युवा कामका लागि पुगेका छन् ।
२०७२ सालको विनाशकारी भूकम्प र श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको मलेसियासहित खाडी मुलुकमा न्यूनतम लागतको निर्णयले निरन्तर ओरालो लागिरहेको वैदेशिक रोजगार गत आर्थिक वर्षको सुरुसँगै बढ्दो छ ।
तर, यसरी विदेश पलायन हुने युवा म्यानपावरका दलालबाट भने ठगिने क्रम घटेको छैन । योसँगै विभिन्न संस्था खडा गरी विदेश जाने युवासँग विभिन्न शीर्षकमा समेत रकम असुल गर्ने कार्य पनि जारी छ ।
नेपाली कामदारका लागि सबैभन्दा राम्रो मानिएको पहिलो गन्तव्य मलेसियामा रोजगारीका लागि थप अवसर सिर्जना भएसँगै विदेश पलायन हुनेको संख्या बढेको हो । मलेसियाले कामदारले तिर्दै आएको लेबी पनि कम्पनीले नै तिर्ने गरेको निर्णयसँगै अझै यो संख्या बढ्ने अनुमान विभागको छ । अहिले नेपालीका लागि पहिलो गन्तव्य बनेको कतारमा भने कामदारले बढी दुःख गर्नुपर्ने हुन्छ ।
फ्रि भिसा र टिकट कागजमै सीमित
मलेसियासहित कतार, साउदी अरब, दुबई, ओमन र बराइनमा कामदार पठाउँदा म्यानपावर कम्पनीले फ्रि भिसा र टिकट उपलब्ध गराउनुपर्ने व्यवस्था छ । म्यानपावर कम्पनीले यी देशमा कामदार पठाउँदा सेवा शुल्क बापत मात्र १० हजार रुपैयाँ लिनुपर्ने व्यवस्था छ ।
तर, म्यानपावर कम्पनीले कामदारसँग लाख रुपैयाँसम्म लिइरहेका छन् । सरकारी निकायमा पेश गर्ने कागजका लागि भने १० हजार रुपैयाँकै रसिद काटने गरेका छन् । सरकारी अनुगमन फिताले हुँदा कामदार पनि बढी भारमा परेका छन् भने फ्रि भिसा र टिकटको निर्णय कागजमा सीमित हुन पुगेको छ ।
–