नेपाली विद्यालय र सांस्कृतिक केन्द्र स्थापनाको योजनाले तीव्रता पाउँदै

कतारमा लामो समय देखि बहसमा रहेको नेपाली विद्यालय तथा सांस्कृतिक केन्द्र स्थापनाको योजनाले यतिखेर तीव्रता पाएको छ।हाल सम्म कागजी कार्य ७० प्रतिशतले पूरा भइसकेको र बाँकी योजना अघि बढ्ने क्रममा रहेको छ।
नेपाल इन्जिनियर्स एशोसिएशनले ५५ औं इन्जिनियर दिवसको अवसरमा शुक्रबार दोहा स्थित र्याडिसन ब्लु होटलमा आयोजना गरेको कार्यक्रममा उक्त जानकारी प्राप्त भएको हो।कार्यक्रममा बोल्दै भूतपूर्व उपाध्यक्ष वीरेन्द्र कुमार शाहले उक्त जानकारी दिएका हुन्।
संस्थाले नेपाली दूतावासलाई कतारमा नेपाली विद्यालय र सांस्कृतिक केन्द्र स्थापना गर्न प्रस्तावित योजना अन्तिम चरणमा पुगेको शाहले बताए। दूतावासले उक्त प्रस्ताव नेपाल सरकारलाई पठाएको र नेपाल सरकारले पनि प्रस्ताव स्वीकार गरिसकेको हुँदा अब योजनाको आर्थिक पक्ष मात्र बाँकी रहेको शाहले जानकारी दिए।
संघद्वारा प्रस्तावित कतारमा स्थापना हुने पहिलो नेपाली विद्यालयमा जम्मा एक हजार विद्यार्थी सिट क्षमता रहनेछ।जसमा अन्तराष्ट्रिय पाठ्यक्रम सँगै आवश्यक राष्ट्रिय पाठ्यक्रम जस्तै सामाजिक,विज्ञान,इतिहास लगायतको पनि समावेस हुनेछ।विद्यालयमा अन्य देशका विद्यार्थीले पनि पढ्ने मौका पाउनेछन्।
कतारमा हाल ३०० भन्दा बढी परिवार जसमध्ये ६०० बढी विद्यार्थी विभिन्न विद्यालयमा अध्ययन गर्ने गर्दछन्।संघको प्रमुख लक्ष्य भनेकै सम्पूर्ण नेपाली विद्यार्थीलाई एउटै छाना मुनि ल्याउनु हो।शाहले कार्यक्रममा बताए।
यसैक्रममा संघले नेपाली दूतावास,स्थानीय संस्था र कम्पनी सँगको सम्बन्ध बढाउन सफल भइसकेको छ।
कतारमा रहेका झण्डै ५०० बढी नेपाली इन्जिनियर हरु मध्ये कार्यक्रममा १४५ इन्जिनियरका परिवारको सहभागिता रहेको थियो।
सन् १९६२ मा स्थापना भएको नेपाल इन्जिनियर्स एशोसिएशनले निजी तथा सरकारी क्षेत्रमा रहेका विभिन्न विधाका झण्डै ३५००० इन्जिनियरको प्रतिनिधित्व गर्दछ।कतारमा भने यसको शाखा सन् २००४ मा स्वर्गीय इन्जिनियर नारायण चौधरीको नेतृत्वमा स्थापना भएको थियो।त्यस यता यो शाखा नेपाली तथा अन्य समुदायका इन्जिनियरका लागि विचार साट्न तथा सहकार्यका लागि एउटा मञ्चको भूमिकामा रहेको छ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम सँगै इन्जिनियर दिवस २०१७ को किताब समेत प्रस्तुत गरिएको थियो।



