पेरिस हमलाको जिम्मा आइएसले लियो

फ्रान्सको राजधानी पेरिसमा भएको आतंकवादी हमलाको जिम्मा अन्तर्राष्ट्रिय अतिवादी समूह इस्लामिक स्टेट (आइएस)ले लिएको छ । बिहीबार राति एउटा व्यस्त सपिङ स्ट्रिटमा आक्रमणकारीले गोली चलाउँदा एक प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो । आक्रमणमा अन्य दुईजना घाइते भएका थिए । कारबाट ओर्लिएका आक्रमणकारी अन्धाधुन्द स्वचालित हतियार प्रहार गरी भागेका थिए । राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा सो हमला भएको हो । पहिलो चरणको राष्ट्रपतीय निर्वाचन आइतबार हुँदै छ । फ्रान्सेली प्रहरीले आक्रमणकारीको खोजी कार्य तीव्र पारेको छ । घटनास्थलमा फेला परेका कागजपत्र अध्ययन गरी प्रमाण संकलन गरेकोे प्रहरीले जनाएको छ । ३९ वर्षीय आक्रमणकारी मुस्लिम लडाकू भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सो हमलापछि फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दले शुक्रबार सुरक्षा परिषद्को बैठक डाकेका छन् । उनले मृतक प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको सीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । आक्रमणपछि राष्ट्रपतीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धामा रहेका चार नेतामध्ये तीनजनाले पेन, इमान्युयल म्याक्रोन र फ्रास्वाँ फिलनले शुक्रबारका लागि तय गरेका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । आक्रमणपछि पेरिसको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

 

‘निर्वाचनमा प्रभाव पार्छ’

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस हमलाले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा असर गर्ने बताएका छन् । ‘पेरिसमा भएको अर्को आतंकवादी हमलाले फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा व्यापक प्रभाव पार्नेछ,’ ट्रम्पले ट्विट गरेका छन् । सन् २०१५ पछि जिहादीले फ्रान्सका विभिन्न ठाउँलाई लक्षित गरी आक्रमण गराएका छन् । ती हमलामा दुई वर्षमा दुई सय ३० भन्दा बढी फ्रान्सेलीको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button