२९४ जना नेपाली स्वदेश फर्किए

दोहाबाट हिजो र आज भएको उडानबाट हिजो २९४ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।
कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले दूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराए बमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप दोहाबाट काठमाण्डौका लागि भएको नेपाल एयरलाइन्सको एनए २३९२ उडान बाट १ बालक र १२ महिला सहित जम्मा १५० जना नेपालीहरू हिजो नेपाल फर्किएको दूतावासले जानकारी गराएको छ । उडानमा एक जना नेपालीको शव पनि लगिएको छ । त्यस्तै ३९ औं उडान मार्फत सोहि एयरलाइन्सको उडानबाट आज १ महिलासहित जम्मा १४४ जना नेपालीहरू नेपाल फर्किएका छन् ।
७२ घण्टा भित्र कोभिड -१९ परीक्षण गरी पिसिआर जाँच नेगेटिभ लेखिएको प्रमाणपत्रसहित विमानस्थल आएका यात्रुमात्र नेपाल जान पाउने दूतावासले बताएको छ ।
दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालीहरुको यात्रा सहजिकरण र समन्वय तथा बिदाईका लागि दूतावास तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । यसपछि अब नेपाल एयरलाइन्सले सेप्टेम्बर २२,२४ र २५ तारिक दोहाबाट उडान भर्दैछ ।
भाइरसको महामारी यता दूतावासको सहजीकरण उडान मार्फत कतारबाट हालसम्म ७ हजार २ सय आठ जना नेपाली सहित ७० वटा शव नेपाल पुगिसकेको छ ।