स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चक
स्पेनिस ला लिगामा रियल म्याड्रिड र बार्सिलोनाले आ–आफ्ना खेलमा जित निकालेपछि उपाधि होड रोमाञ्चक बन्दै गएको छ । लिगमा बार्सिलोनाले भिल्लारियलाई ४–१ ले हराएको केही घन्टामै रियल म्याड्रिडले पनि ग्रानडामाथि ४–० को जित निकाल्यो ।
दुवै टोलीको अंक बराबर
लिगको शीर्ष स्थानमा रहेको साबिक विजेता बार्सिलोनाले ३६ खेलबाट ८४ अंक जोडेको छ । दोस्रो स्थानको रियल म्याड्रिडले एक खेल कम खेल्दै ८४ अंक नै बटुलेको छ । गोलअन्तरमा भने बार्सिलोना अघि छ । बार्सिलोनाको गोलअन्तर ७४ छ भने रियलको ५७ मात्र छ । एक खेल कम खेल्दा रियल फाइदामा छ । बाँकी रहेका तीन खेलमा जित निकाले रियलले उपाधि जित्ने पक्का छ । तीनमध्ये एक खेलमा बराबरीमा रोकिए पनि रियललाई उपाधि जित्न अप्ठ्यारो पर्ने छैन । बार्सिलोनाले भने उपाधि रक्षा गर्न बाँकी रहेका दुई खेल जित्नुपर्नेछ भने रियल म्याड्रिडको हार्नुपर्नेछ ।
बार्सिलोनाले अब लास पाल्मास र एइबारसँग खेल्न बाँकी छ । लिगमा एइबार आठौँ तथा लास पाल्मास १४औँ स्थानमा छन् । रियल म्याड्रिडले सेभिल्ला, सेल्टा भिगो र मालागासँग प्रतिस्पर्धा गर्नेछ । लिगको सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको सेभिल्ला चौथो स्थानमा छ भने सेल्टा भिगो ११औँ र मालगा १२औँ स्थानमा छन् ।
एमएनएसको गोल
भिल्लारियमाथि फराकिलो अन्तरको जित निकाल्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेसी, नेमार र लुइस सुआरेज (एमएनएस) ले गोल गरे । खेलको २१औँ मिनेटमा नेमारले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले मेसीले उपलब्ध गराएको पासमा गोल गरेका थिए । तर, ३२औँ मिनेटमा भिल्लारियलका क्रेडिट बाकाम्बुले बराबरी गोल फर्काए । पहिलो हाफको अन्तिम मिनेटमा मेसीले २० यार्ड टाढाबाट गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए । ६९ मिनेटमा मेसीको पासमा सुआरेजले भिल्लारियलका दुई डिफेन्डरलाई छकाउँदै गोल गरे । ८२ मिनेटमा भिल्लारियलका जाउमी कोस्टाले ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेपछि बार्सिलोनाले अग्रता ४–१ मा पु¥यायो । बार्सिलोनाको जितमा दुई गोल गरेका मेसीले सिजनमा गोल संख्या ५१ पु¥याएका छन् ।
रियल म्याड्रिडको सानदार जित
स्ट्राइकर क्रिस्टियानो रोनाल्डोसहित पहिलो रोजाइका मुख्य खेलाडीविना मैदान उत्रिएको रियल म्याड्रिडले रेलिगेसनमा परिसकेको ग्रानडामाथि सानदार जित निकाल्यो । रियलको जितमा जेम्स रोद्रिग्वेज र अल्भारो मोराटाले २–२ गोल गरे । खेलको तेस्रो मिनेटमा लुकास भाज्क्युको पासमा गोल गर्दै रोद्रिग्वेजले रियललाई सुरुवाती अग्रता दिलाए । एघारौँ मिनेटमा उनै रोद्रिग्वेजले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर पारे । रोद्रिग्वेजले पछिल्ला ९ खेलमा ७ गोल गरिसकेका छन् । मोराटाले ३०औँ र ३५ मिनेटमा गरी दुई गोल गरेपछि रियलले पहिलो हाफमै ४–० को अग्रता बनायो । तर, दोस्रो हाफमा रियलले कुनै गोल गर्न सकेन ।
दोस्रो हाफमा रियलका भाग्क्युको प्रहार क्रसबारमा लागेको थियो । यस्तै, कासेमिरोले पनि पाएको सुन्दर मौका खेर फालेका थिए । पछिल्लो पाँच सिजनमा पहिलो उपाधि जित्ने रियलको अभियान थप बलियो बनेको छ । बाँकी रहेका तीन खेलमा ७ अंक जोड्न सके रियलले उपाधि जित्ने पक्का छ ।