साउदी अरब,युएई,इजिप्ट र बहराइनले कतार संगको कुटनीतिक सम्बन्ध तोड्यो,कतारीलाई देश छोड्न आदेश

साउदी अरब,युएई,इजिप्ट र बहराइनले कतार संगको कुटनितिज्ञ सम्बन्ध तोडेको छ । आज बिहान आफ्नो न्युज एजेन्सी मार्फत जानकारी गराउँदै यी देशहरुले कतार संग यस्तो निर्णय गरेको हो । आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै यी देशहरुले कतारलाई जमिन,समुन्द्री र हवाईमार्ग सबैमा रोक समेत लगाएको छ । साथै पर्यटक र बसोबास गर्ने कतारी नागरिकलाई देश छोड्न दुई हप्ताको अल्टिमेटम पनि दिएको छ ।
साउदी अरबले कतार संग सबै जमिन,हवाई र समुन्द्री मार्ग बन्द गरेको साउदी विदेश मन्त्रालयले आफ्नो विज्ञप्तीमा लेखेको छ । मन्त्रालयले आफ्नो सबै नागरीकलाई कतार प्रवेश गर्न समेत रोक लगाएको छ । तर हज्ज गर्न गएका कतारी नागरीकलाई भने सबै सुविधाहरु प्रदान गर्ने जनाएको छ ।
त्यस्तै अबु धबीको इतिहाड एयरवेजले पनि कतार आउने र जाने सम्पूर्ण उडान बन्द गरेको छ । साथै साउदी बहराइन र युएईले त्यहाँ भएका कतारी कुटनितिज्ञहरुलाई देश छोड्न ४८ घन्टाको समयसिमा दिएको छ ।
कारण के ?
सम्बन्ध तोड्नको प्रमुख कारण भने कतारले आतंकवादलाई सहयोग गरीरहेको जनाइएको छ । साथै केही हप्ता अगाडी कतार न्युज एजेन्सी ह्याक हुँदा यी गल्फ राष्ट्रहरुमा कतारका अमिर बाटै नकरात्मक सन्देश गएको थियो भने विभिन्न राष्ट्रहरुका सञ्चार माध्यमहरुले यस कुरालाई साँचो समाचार भन्दै आलोचना गरेका छन् । तर कतारले यो कुरालाई झुटो भनी खण्डन गर्दै आइरहेको छ ।
त्यस्तै केही दिन अघि यी राष्ट्रहरुमा अमेरिकी राष्ट्रपती ट्रम्पको भेटघाट नै यसको प्रमुख कारण हुनसक्ने विभिन्न सञ्चार माध्यमले लेखेको छ ।