नाकाबन्दी लगाएका मुलुकसँग कतारले क्षतिपूर्ति माग्ने

चार खाडी मुलुकले कतारलाई एक्लाउँदा भएको नोक्सानको एउटा अध्ययन समिति बनाइ क्षतिपूर्ति माग गर्ने कतार सरकारले बताएको छ ।
कतारका सरकारी अभियोजक अली अलमारीले हिजो आइतबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने, ‘समितिले कतारमा रहेका निजी कम्पनी, सार्वजनिक संघसंस्था र व्यक्तिबाट खाडी मुलुकको पछिल्लो निर्णयका कारण भएको व्यापारिक घाटाका विवरण जम्मा गर्नेछ र क्षतिपूर्ति दावी गर्नेछ ।’
उनले केही विवरण पेश गर्दै क्षतिपूर्तिका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय संरचनालाई प्रयोग गरी क्षतिपूर्ति माग गर्ने बताए ।
नव गठित समितिमा कतारका न्याय तथा विदेशमन्त्री पनि सदस्य रहेका छन् ।
साउदी अरब, युनाइटेड अरब इमिरेट्स (दुबई), इजिप्ट र बहराइनले कतारले आतंकबादलाई सघाएको आरोप लगाउँदै कतारसँगको कुटनैतिक सम्बन्धलगायत हवाई, जमिन तथा जलमार्ग कतारसँग विच्छेद गरेको घोषणा गरेका थिए ।
कतारले उनीहरूले भनेझैँ आफ्नो मुलुकले कुनै आतंकबादी समूहलाई नसघाएको र उक्त समूहले कतारमाथि राखेका शर्त सार्वभौम मुलुकमाथि गरिएको अपमानजनक कार्य भएको आरोप लगाउँदै आएको छ । – रासस/एपी
