नाकाबन्दीले कतारलाई झन् बलियो बनायो : साद अल–काबी

कतार तरल प्राकृतिक ग्यास निर्यात गर्ने संसारको सबभन्दा ठूलो निर्यातक हो र यसले प्रत्येक वर्ष ७ करोड टनभन्दा बढी ग्यास उत्पादन गर्छ ।
सन् २०१७ को अप्रिलमा यो खाडी राज्यले संसारको सबभन्दा ठूलो ग्यास क्षेत्र ‘नर्थ डोम’ मा उत्पादन झन् बढाउने घोषणा गरेको थियो । कतारको उत्तरी तटमा रहेको यो इलाका इरानसँग जोडिएको छ ।
ग्यासले गर्दा कतार संसारको सबभन्दा धनी मुलुकमध्ये एक हुन पुगेको छ र उसलाई एक प्रमुख क्षेत्रीय शक्तिका रूपमा उभ्याएको छ । यसकारण कतारले विशाल निर्माण परियोजनाहरूमा हात हाल्न सफल भएको छ र सन् २०२२ को फिफा विश्वकप आयोजना गर्ने अवसर समेत दिलाएको छ ।
यस्तोमा चार खाडी मुलुकले कतारमाथि लगाएको नाकाबन्दीले कतारको अर्थतन्त्रलाई झन् मजबूत बनाएको कतार पेट्रोलियम प्रमुख साद अल–काबी बताउँछन् ।
काबी कतारको तेल र ग्यास उद्योगको भविष्यप्रति आशावादी छन् । उनी भन्छन्, ‘हामीहरू ग्यासको बजारमा आधिपत्य जमाइरहन्छौं र सदूर भविष्यसम्म यसको नेतृत्व गर्छौं । हामी तेल र ग्यासको क्षेत्रमा अन्तर्राष्ट्रिय रूपमै वृद्धि हुन्छौं ।’
अल–काबी थप्छन्, ‘म चार देशलाई नाकाबन्दीका लागि धन्यवाद दिन्छु किनकि यसले कतारलाई झन् बलियो बनाएको छ । कतारका मानिस र उनीहरूको व्यापार झनै बलियो भएको छ । हामी यसबाट पहिले बढी शक्तिशाली भएर आउनेछौं ।’
अल–जजीरा/लोकान्तर
