विश्वकप आयोजना गर्न नदिनु नै नाकाबन्दीको प्रमुख कारण

दुबईको एक उच्च सुरक्षा अधिकारीले नाकाबन्दीको मुख्य कारण नै कतारलाई २०२२ मा विश्वकप आयोजना गर्न नदिने खुलासा गरेका छन्।
दुबई सुरक्षाका प्रमुख लेफ्टिनेन्ट जनरल धाही खलफनले ट्विटर मार्फत “यदि कतार बाट विश्वकप हट्यो भने नाकाबन्दी पनि हट्छ किनकि नाकाबन्दी सृजना भएकै विश्वकपको योजना विफल पार्नका लागि हो”भनेका छन्।
यसअघि विश्लेषकहरूले पनि विश्वकपको आयोजनाको लागि कतारले गरेको महत्वकांक्षी कदम नै छिमेकी राष्ट्रहरूको नाकाबन्दीको प्रमुख कारण रहेको निष्कर्ष निकालेका थिए।

कुवेत,अमेरिका र अन्य युरोपियन राष्ट्रहरू बाट साथ पाएपछि कतार माथि नाकाबन्दी लगाउने देशहरुले यतिखेर विश्वकप आयोजनामा दखल पुर्याउने खालका आरोपहरु लगाउन सुरु गरेका छन्।ती देशहरुले २०२२ विश्वकप कतारले घुसखोरी बाटो मार्फत आफ्नो हातमा पारेको र त्यसका लागि पूर्वाधार निर्माण गर्ने श्रमिकहरुलाई दमन गरेको आरोपमा लगाएका छन्।तर फिफाले भने यस्ता आरोपको कुनै प्रमाण नभएको पुष्टि गरिसकेको छ।
त्यस्तै विश्वकप आयोजना गर्ने जिम्मा पाएको सुप्रिम कमिटी फर डेलिभरी एण्ड लेगेसीका सचिव हस्सन अल थवडीले छिमेकी राष्ट्रहरूको नाकाबन्दी विश्वकप आयोजनाका लागि कुनै जोखिम नभएको बताएका छन्।उनले विश्वकप आयोजना गरेर मध्यपूर्वको भविष्य उच्च राख्ने प्रतिबद्धता समेत दिएका छन्।
आतंकवादलाई सहयोग गरेको आरोप र ईरान सँग गाढा सम्बन्ध राखेको भन्दै गत जुन ५ देखि साउदी अरेबिया,बहराइन,इजिप्ट,युएई लगायतका राष्ट्रहरूले कतारलाई नाकाबन्दी लगाउँदै आइरहेका छ्न्।तर कतारले उक्त आरोपको सुरु देखि नै खण्डन गर्दै आइरहेको छ।
