अक्टोबर १६ देखि वर्षायाम सुरु हुँदै

कतारमा यो वर्षको वर्षायाम अक्टोबर १६ बाट सुरु हुने भएको छ। स्थानीय भाषामा अल वस्मी भनेर चिनिने यो मौसमको अवधि जम्मा ५२ दिनको हुने कतार मौसम विभागले जनाएको छ।
यो वर्ष बादल पश्चिम देखि पूर्व तर्फ सर्ने र यस अवधिको सुरुवाती वर्षाले सधैंजसो राम्रो वर्षायामको संकेत गर्ने मौसम विभागले भनेको छ।
विभागले हिजो सार्वजनिक गरेको मौसमी पूर्वानुमान रिपोर्ट अनुसार वर्षाको अवस्था खाडी क्षेत्रमा डिसेम्बर सम्म मध्यम तहले रहनेछ।त्यस्तै यो याम वर्षा सँग सम्बन्धित रहेर स्थानीय बिरुवाहरू जस्तै रक्रोक र अटेरको विकासमा सहयोग पुर्याउने हुँदा यसलाई “अल वस्मी” भनेर नामाकरण गरिएको विभागको रिपोर्टमा उल्लेख छ।
सामान्यतया यो समयमा कतारको उच्च तापक्रम ३५ र न्यूनतम तापक्रम २० डिग्री सेल्सियस सम्म रहनेछ।साथै दिनको समय मध्यम हुने र सुख्खा उत्तरपश्चिमी वायुको कारण रातको समय चिसो रहने विभागले जानकारी दिएको छ।
