एनआरएनए उद्धार कोषमा अनियमितता

गैरआवासीय नेपाली संघले मध्यपूर्वका केही राष्ट्रमा रोजगारीमा रहँदा असजिलोमा पर्ने व्यक्तिको उद्धारको लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को सहयोगमा स्थापना गरेको उद्धार कोषमा व्यापक अनियमितता भएको सम्बद्ध पक्षहरुको आरोप छ ।
प्रभावित देशहरुमा रहेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्य तथा सम्बन्धित देशका राष्ट्रिय समन्वय परिषद्लाई समेत जानकारी नदिइ कोषको रकम खर्च भएको खुलासा भएपछि अनियमितता दाबी गरिएको हो ।
अनियमितताका सम्बन्धमा एनआरएनए मध्यपूर्व संयोजक प्रवीण गुरुङ र उपसंयोजक मनोज गोरखालीले संघका अध्यक्ष कुमार पन्तसहित अन्तर्राष्ट्रिय परिषद्को ध्यानाकर्षण गराएका छन्।
यूएई, साउदी अरब, कतार, बहराइन, कुवेत, ओमान र एसिया क्षेत्रको राष्ट्र मलेसियामा अप्ठ्यारोमा परेका नेपाली श्रमिकहरुको उद्धारको निम्ति अन्तर्राष्ट्रिय श्रम संगठनबाट प्राप्त करोड रुपियाँको उद्धार कोष स्थापना गरिएको हो । यो कोषको नेतृत्व डा. बद्री केसीले गरेका छन् ।
नेपाली जनसम्पर्क समिति, दुबईका अध्यक्ष भुवानीप्रसाद तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमा अनियमितता भएको भन्दै छानबिनका लागि मागसहित उल्लेख गरेपछि यो विषय सार्वजनिक भएको हो । गैरआवासीय नेपाली संघको काठमाडौंस्थित कार्यालयमा कार्यरत कर्मचारीहरुलाई प्रयोग गरेर कोषको दुरुपयोग गरिएको तिमिल्सिनाले उल्लेख गर्नुुभएको छ । उहाँका अनुसार नेपालस्थित कार्यालयका कर्मचारीहरुको काम एयरपोर्ट जाने र यूएईलगायत कतार र साउदी अरबबाट नेपाल फर्किएका नेपालीहरुलाई भेटी उनीहरुको कागजात लिने र उनीहरुकै नाममा भुक्तानी रसिद बनाउने रहेको छ ।
वैदेशिक रोजगारीबाट फर्केका नेताहरुको कागजातको तस्वीर बनाउने र प्रतिव्यक्ति ३५ हजार उपलब्ध गराइएको फर्जी बिल बनाउने गरिएको पनि उहाँको दाबी गर्नु भएको छ ।
तिमिल्सिनाले सार्वजनिकरुपमा नै अनियमितताको पर्दाफास गरेपछि संघको मध्यपूर्व संयोजक गुरुङ र उपसंयोजक मनोज गोरखालीले त्यसबारे आफूहरुलाई कुनै जानकारी नभएको भन्दै स्पष्टीकरण दिनुुभएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिक का लागि भूपराज बस्यालले लेख्नुभएको हो ।