नेपाली यू-१९ क्रिकेट टिम सोमबार बंगलादेश जाँदै
नेपालले एसिसी यू–१९ एसिया कपको अन्तिम तयारी बंगलादेशमा गर्ने भएको छ। तयारी क्रममा नेपालले बंगलादेशको यू–१९ टिमसँग ३ वटा अभ्यास खेल खेल्नेछ। नेपाली युवा टिमका प्रशिक्षक विनोद दासका अनुसार नेपाली टिम सोमबार बंगलादेश जाँदैछ। ‘हामी बंगलादेश क्रिकेट बोर्डको निमन्त्रणामा जान लागेका हौं,’ दासले भने, ‘त्यहाँ रहँदा बंगलादेशको यू–१९ टिमसँग तीन वटा एकदिवसीय अभ्यास खेल खेल्नेछौं।’
बंगलादेश क्रिकेट बोर्डले पनि नेपाली युवा क्रिकेट टिम बंगलादेश भ्रमणमा आउन लागेको आफ्नो आधिकारिक वेब पोर्टलमार्फत सार्वजनिक गरेको छ।
नेपालले बंगलादेशको युवा टिमसँग १६, १८ र १९ कात्तिकमा एकदिवसीय अभ्यास खेल खेल्नेछ।
बंगलादेश जानुअघि नेपालले राष्ट्रिय टिम घोषणा गर्ने प्रशिक्षक दासले बताए। उनका अनुसार युवा टिमको बन्द प्रशिक्षणमा हाल १९ खेलाडी छन्। सुरुमा २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो।
बंगलादेश जानुअघि १५ जना राष्ट्रिय टिममा पर्नेछन् भने ४ जनालाई वैकल्पिकमा राखिनेछ। टिममा गत महिना मलेसियामा एसिसी यू–१९ पूर्वी क्षेत्रीय प्रतियोगिता खेलेका अधिकांश खेलाडी छन्। तर नन्दन यादव भने नेपाली टिममा हुनेछैनन्। नन्दनले आफू अस्वस्थ भएको भन्दै टिमबाट नाम फिर्ता लिएको प्रशिक्षक दासले जानकारी दिए। यस्तै पहिलो चरणको बन्द प्रशिक्षणमा सुशान्तसिंह थापाले पनि अस्वस्थताका कारण नाम फिर्ता लिएका छन्।
२३ कात्तिकदेखि मलेसियामा हुने यू–१९ एसिया कपमा नेपालसहित ८ टिमको सहभागिता हुनेछ। प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान र मलेसिया छन्। एसिसी पश्चिम क्षेत्रबाट एक टिम छनोट हुन बाँकी छ।
गत महिना मलेसियामा भएको प्रतियोगिताको फाइनलमा हङकङलाई ५ विकेटले पराजित गरेर नेपाली टिम च्याम्पियन बनेको थियो। उपाधिसँगै नेपालले यू–१९ एसिया कपमा स्थान बनाएको थियो। नेपाली टिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा पहिलो पटक उत्रिएको थियो।
नेपाली टिममा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापा मगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, विक्रमकुमार भुसाल, सन्दीप जोरा, सुमित महर्जन थिए। वैकल्पिक खेलाडीमा कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रकाश केसी र रिजन ढकाल थिए।