यस्तो रह्यो सीबीएसएनको कार्यक्रममा अमिरको अन्तरवार्ता

क्युएनए
अमेरिकी च्यानल सीबीएस टिभी नेटवर्कको चार्ली रोज सँगको “६० मिनेट” कार्यक्रममा कतारका अमिरले देशको स्वतन्त्रता माथि हस्तक्षेप नहुने गरी वार्ताको लागि सधैं तत्पर रहेको कुरा दोहोर्याउनु भएको छ।
त्यस्तैगरि ठोस निष्कर्ष निकाल्दै समस्या अन्त्य गर्न खाडी भाइहरू बीच डेभिड क्याम्पमा अमेरिकी राष्ट्रपति ट्रम्पले राखेको प्रस्तावित वार्तामा आफ्नो समर्थन रहेको बताउनुभएको छ।
कतारी समय अनुसार हिजो बिहान २ बजे प्रशारण भएको उक्त कार्यक्रममा अमिरले वार्ताका लागि उनीहरू एक मीटर अगाडि बढे आफू हजारौं मीटर अघि आउन इच्छुक रहेको समेत जाहेर गर्नुभएको छ।
“छिमेकी राष्ट्रहरूको एक्कासीको नाकाबन्दीले आफू चकित परेको छु।आतंकवाद र सहयोगको बारेमा छलफल गर्न अमेरिकी राष्ट्रपतिको उपस्थितिमा रियादमा सम्पन्न भएको पछिल्लो कार्यक्रममा कतार विरुद्ध कुनै परिणाम नै आएको थिएन”अमिरले भन्नुभएको छ।
नाकाबन्दीको मुख्य कारण
कार्यक्रममा छिमेकी राष्ट्रहरूले कतार विरुद्ध लगाएको आरोपको खण्डन गर्दै नाकाबन्दीको मुख्य कारण नै कतारको स्वतन्त्रता ती राष्ट्रहरूलाई मन नपरेको अमिरले बताउनुभयो।
अल जजिरा बन्द नहुने
खाडी क्षेत्रको वास्तविकता बोल्ने अल जजिरा बन्द नहुने र खाडी क्षेत्रमा अबको ५०,६० वा ७० वर्षमा यसले खाडी क्षेत्रमा प्रेस स्वतन्त्रताको इतिहास लेख्ने बताउनुभयो।
शासन नै परिवर्तन गर्न पर्ने
सन् १९९० मा जस्तै ती राष्ट्रहरूले कतारको शासन परिवर्तन गर्न खोजेका हुन् ताकि कतार उनीहरूको अधीनमा रहोस् र एक स्वतन्त्र राज्य नबनोस् भन्ने चाहेका छन्।
अमेरिकाले सैन्य युद्ध गर्न नदिने
यदि कुनै सैन्य कार्य भए त्यो खाडी क्षेत्रकै लागि बेफाइदा हुनेछ र अमेरिकी राष्ट्रपति ट्रम्पले हामी छिमेकी देश बीच सैन्य युद्ध गर्न नदिने प्रतिबद्धता दिएको अमिरले बताउनुभएको छ।
नागरिक माथि गर्व
अमिरले आफ्नो देशमा रहेका नागरिकको नाकाबन्दी सहने क्षमताको वास्तविकता ती राष्ट्रहरूले बुझिसकेको र आफ्नो देशको जनताप्रति आफू गर्व रहेको समेत बताउनुभयो।साथै कतार जुन ५ भन्दा पछि झनै बलियो भएको इतिहास बनेको खुलासा गर्नुभयो।
कतार र इरानको सम्बन्ध
कतार र इरानको सम्बन्ध बारे प्रश्नमा अमिरले भन्नुभएको छ: ईरान हाम्रो छिमेकी हो।हाम्रो नाकाबन्दी गर्ने राष्ट्रहरू सँगको कुटनीतिक सम्बन्ध भन्दा भिन्नै सम्बन्ध ईरान सँग थियो।जब ती राष्ट्रहरू,आफ्नै दाजुभाईहरुले औषधि,खाना,सबै थोक बन्द गर्दा हामीलाई साथ दिने ईरान नैं रह्यो।
दोहामा तालिवानको कार्यालय
दोहामा रहेको तालिवानको कार्यालय बारे अमिरले त्यो अमेरिका कै आग्रहमा कतारको गतिविधि बारे वार्ताका लागि खोलिएको बताउनुभयो।
