कतारमा मर्स भाइरस भेटियो

कतारको स्वास्थ्य मन्त्रालयले मिडिल इस्ट रिस्पिरेटोरी सिन्ड्रोम (मर्स ) भाइरस भेटिएको पुष्टि गरेको छ । एक जना ६५ वर्षे व्यक्तिलाई उक्त भाइरस देखिएको मन्त्रालयले बताएको छ ।
मर्स भाइरस एक प्रकारको कोरोना जातको भाइरस हो जुन रुघा र सार्सको मिश्रण हो । यो भाइरसको संक्रमणका कारण पहिलोपटक मानव मृत्यु साउदी अरेबियामा भएको थियो । यो भाइरसले अहिलेसम्म विभिन्न देशमा गरी ४ सय ४२ जनाको ज्यान लिइसकेको छ । केहि वर्ष अघि मध्यपूर्व देखि युरोपेली र एसियाली देशहरु गरी २५ देशमा यो भाइरस फैलिएको थियो । भाइरस संक्रमणका धेरै जसो घटना जनावरबाट मानिसमा संक्रमण भएकेा पाइएपनि मानिसबाट मानिसमै समेत यो भाइरस फैलिएको पाइएको छ । कतारमा पछिलो दुई वर्षमा यो भाइरस तीन जनामा मात्र देखिएको थियो । तर यो कोरोना भाइरस भन्दा बिलकुलै फरक रहेको मन्त्रालयले बताएको छ ।
MOPH Confirms a Case of Middle East Respiratory Syndrome, read more @ https://t.co/hwwmjR74Jh
— وزارة الصحة العامة (@MOPHQatar) February 18, 2020
भाइरसले स्वासप्रस्वास प्रणालीमा संक्रमण गरेर जनावर तथा मानिसको स्वास्थ्यमा असर पूराउँछ । भाइर संक्रमणपछि ज्वरो, खोकी तथा स्वास प्रस्वासमा समस्या पैदा हुन्छ । त्यसका साथै निमोनिया तथा मृगौला फेल समेत हुनसक्छ । अहिलेसम्म यो भाइरसबाट प्रभावित हुने मानिसमध्ये अधिकांस वृद्धवृद्धा पाइएका छन् ।
बच्नका लागि के गर्ने ?
मर्स भाइरस कसरी फैलिन्छ भन्ने विषयमा अहिलेसम्म दहि्रलो प्रमाण प्राप्त हुन सकेको छैन । यद्यपि यो हावाको माध्यमबाट सर्ने वैज्ञानिकहरु बताउँछन् । त्यसकारण रुघाखोकी लागेमा त्यसको उपचार गरिहाल्ने, चिसोबाट बच्ने, रुघाखोकी लागेको मानिस सँग लसपस नगर्ने, हातखुट्टा बारम्बार धुने, मास्क लगाएर हिड्ने, हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने जस्ता सावधानी अपनाएमा यो भाइरसको संक्रमणबाट बच्न सजिलो हुन्छ ।