रेडक्रस, रेड क्रिसेन्ट अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रिन्सी काफ्ले जेनेभा जाँदै

चितवन, कात्तिक ६-
नवलपुरको मध्यविन्दु नगरपालिका–१० अरूणखोला निवासी युवा नेतृ तथा रेडक्रसकर्मी प्रिन्सी काफ्ले ३४औं अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्टको सम्मेलनमा सहभागी हुने भएकी छन् । उनी अक्टोवर २२ देखि ३१ सम्म स्विजरल्यान्डको जेनेभामा आयोजना हुने सम्मेलनमा सहभागी हुने भएकी हुन् ।
३४औं अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्टको सम्मेलनमा विश्वभरका १९६ भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुने छन् । मानवीय संकट र त्यसका समाधानबारे छलफल गर्नका लागि उक्त सम्मेलन महत्त्वपूर्ण अवसर रहेको काफ्लेले बताइन् ।
संसारभरका मानव जातीले सामना गरिरहेका अनिश्चितता र चुनौतीहरूलाई सम्मेलनले सम्बोधन गर्ने उद्देश्य राखिएको छ । सम्मेलनमा काफ्लेले जलवायु परिवर्तन, आपतकालीन मानवीय सहायता र नवीन समाधानका विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । उनले विश्व समुदायलाई नेपाली समाजमा उत्पन्न भइरहेका मानवीय संकटका समाधानबारे जानकारी गराउँदै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नेछिन्।
यो सम्मेलनमा सहभागीता आफ्ना लागि मात्र नभई सम्पूर्ण दक्षिण एशियाली युवाहरूका लागि गर्वको विषय भएको उनी बताउँछिन् । उनले ह्युम्यानिटेरियन भिलेज बुथमा
साउथ एसियन युथ नेटवर्क (एसएवाईएन) को प्रतिनिधित्व गर्दै दक्षिण एशियाली युवा समुदायको आवाजलाई विश्वमञ्चमा पुर्याउने अवसर पाएकी छन् । यस मञ्चमा प्रिन्सीको सहभागिताले दक्षिण एशियामा मानवीय सहयोग र जलवायु परिवर्तनको प्रतिरोधका लागि युवाहरूको योगदानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।
उनले विश्व समुदायलाई नेपालले मानवीय सेवामा पुर्याउँदै आएको योगदानबारे जानकारी गराउनेछिन्। यो सहभागिता नेपालका लागि मात्र नभई सम्पूर्ण युवाहरूका लागि प्रेरणादायी यात्रा हुनेछ।
यस समाचारको श्रोत : www.narayanionline.com हो ।