आज नेपालका ३२ जिल्लामा मतदान सुरु, बिहान १० बजेसम्म २५ प्रतिशत मतदान

नेपालमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा नेपाली समय अनुसार बिहान ७ बजेदेखि शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आज प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।
मतदानका लागि विहान ७ बजेभन्दा अगाडिदेखि नै मतदाताहरु आ–आफ्ना मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेको पनि आयोगले जनाएको छ । मुगु जिल्लामा सबैभन्दा बढी संख्यामा मतदाताहरु मतदान केन्द्रमा मतदानका लागि सरिक भएका छन् ।
पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरु :
प्रदेश नं. १
सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश नं. ३
नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,
प्रदेश नंं. ४
मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा,
प्रदेश नंं. ५
रुकुम पूर्वी भाग र रोल्पा,
प्रदेश नं. ६
रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा
प्रदेश नं. ७
दार्चुला, बझाङ, बाजुरा र बैतडी
उक्त जिल्लामा ४ हजार ४६५ मतदान केन्द्रहरुमा मतदान भइरहेको छ । यस पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

Source : NayaPatrika
बिहान १० बजेसम्म २५ प्रतिशत मतदानः निर्वाचन आयोग
पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आइतबार ३२ जिल्लामा मतदान भइरहेको छ। निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म २५ प्रतिशत मतदान भएको छ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरुमा चिसोका कारण केही समय ढिलो मतदान सुरु भएको छ ।
अन्य मतदान केन्द्रहरुमा भने शान्तिपूर्ण रुपमा समयमै मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।