नेपालका ४५ जिल्लामा मतदान सुरु, सवारी साधन साँझ ७ बजेपछि खुल्ने

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दोस्रो चरणमा आज मुलुकका ४५ जिल्लामा शान्तिपूर्ण तवरले मतदान सुरु भएको छ। पहिलो चरणको निर्वाचन सकिएको ११ दिनपछि दोस्रो चरणको निर्वाचन आज हुँदैछ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ।
राजधानी काठमाडौं सहित देशका पहाडी तथा तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो। प्रतिनिधिसभा सदस्य तर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि मतदान कार्य हुँदैछ।
आज प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी,
प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटमा मतदान हुँदैछ।
त्यसैगरी, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर,
प्रदेश नं ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वतमा पनि मतदान सुरु भएको हो।
प्रदेश नं ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान बाँके र बर्दिया,
प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मतदान हुँदैछ।
मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गर्नुपर्ने छ । प्रतिनिधिसभाको हरियो र प्रदेश सभाको कालो मतपत्रमा एक ठाउँमा मत संकेत गर्नुपर्दछ । त्यसैगरी समानुपातिकतर्फको रातो मतपत्र एउटा मात्र हुनेछ ।
रातो मतपत्रको माथिको खण्डमा प्रतिनिधिसभाको लागि र तलको खण्डमा प्रदेशसभाको लागि मत संकेत स्वस्तिक छाप लगाउनुपर्ने छ ।

सवारी साधन चलाउन रोक, साँझ ७ बजेपछि खुल्ला
आज निर्वाचन भइरहेका जिल्लाहरुमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । गृह मन्त्रालयले ४५ जिल्लामा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको हो । सुरक्षाका कारण गएराति १२ बजेदेखि आज बेलुका ७ बजेसम्म यातायातका साधन चलाउन रोक लगाइएको हो ।
तर सुरक्षा निकाय र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारी साधन भने चलेका छन् ।
यस्तै अत्यावश्यक सेवाका एम्बुलेन्स, दमकल, खानेपानी, शववाहन, दूरसञ्चार तथा दूध ढुवानीलगायतका सवारी साधन चल्न दिइएको गृह मन्त्रालयले जनाएको छ ।
सवारी साधन सञ्चालनमा रोक लगाइएपछि सडकहरु सुनसान देखिएका छन् ।
कहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त
