वीरगञ्जको ग्यास उद्योगमा आगलागीः सबै सिलिण्डर जले, घटनामा दुई जनाको मृत्यु

वीरगञ्ज महानगरपालिका– २२ स्थित पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा भीषण आगलागी भएको छ ।उद्योगमा बिहान सवा ६ बजेतिर आगलागी भएको हो । आगलागीमा परी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।उद्योगभित्र कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।
आगलागी नियन्त्रण बाहिर छ । ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान सकेका छैनन् । उनीहरू आगो लागेको स्थानभन्दा २/३ सय मिटर परै छन् । ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर आएको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि आगो नियन्त्रणमा लिन सकिएको छैन । आगलागीको कारण खुलेको छैन ।
आगोलागी नियन्त्रणका लागि भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आइओसी)को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु झिकाइएको छ ।यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वरुणयन्त्र मगाइएको छ ।