घरेलु मैदानमै रियल मड्रिडको लज्जास्पद हार
यो सिजनको पहिलो एल क्लासिकोमा रियल मड्रिडले घरेलु मैदानमै लज्जास्पद हार ब्यहोरेको छ । स्पेनिस ला लिगा अन्तरगत यस सिजनको पहिलो एल क्लासिकोमा पनि बार्सिलोनाले रियल मड्रिडमाथि ३–० को सहज जित निकालेको हो ।
पहिलो हाफमा बार्सिलोनामाथि दबाब दिए पनि दोस्रो हाफमा रियल कम्जोर बन्यो । त्यसको फाइदा उठाउँदै बार्सिलोनाका लागि उत्कृष्ट पासको तालमेलमा खेलको ५४ औँ मिनेटमा लुइस स्वारेजले गोल गरे ।
त्यसपछि खेलको ६४ औँ मिनेटमा मेसीले पेनाल्टीबाट गोल थपे । काउन्टर एट्याकमा बार्सिलोनाका खेलाडीले प्रहार गरेको बललाई डिफेन्डर कार्भाहलले डि एरियाभित्र हातले रोकेपछि रातो कार्ड खाँदै मैदान छाडेका थिए ।
कार्भाहलले हातले बल छेकेपछि पाएको पेनाल्टीलाई खेलको ६४ औँ मिनेटमा गोलमा परिणत गरेपछि बार्सिलोना २–० ले अगाडि बढ्यो । २ गोलले अग्र्रता बनाएपछि पनि बार्साले १० खेलाडीमा सीमित रियलमाथि निरन्तर दबाब दियो ।
खेलको अन्तिम समयमा बार्सिलोनाका लागि एलेइक्स भिदालले गोल गर्दै ३–० को जित पक्का गरे । आजको खेलमा मेसी र स्वारेजले उत्कृष्ट तालमेल गर्दै नेयमारको अभाव महसुस हुन दिएनन् । अर्कातिर रियलमा रोनाल्डो र बेन्जेमाको तालमेललाई बार्साले पटक पटक विफल बनाइदियो ।
यो जितपछि १७ खेलबाट बार्सिलोना ४६ अंकसहित लिगको शीर्ष स्थानमा छ । १६ खेल खेलेको रियल मड्रिड भने ३१ अंकसहित चौथो स्थानमा छ । रियल बार्सिलोना भन्दा १४ अंकले पछि परेको छ । – अन्नपूर्ण पोस्ट