भूकम्पपीडितको व्यथा : टहरामै दोस्रो हिउँद, गुनासोको चाङ लागे पनि सुनुवाइ भएन

पुस २, २०७३- गत वर्ष वैशाखको भूकम्पमा घरबास गुमाएका पीडित दोस्रो हिउँद पनि टहरामै गुजार्न बाध्य भएका छन् । सरकारले आवास निर्माणमा प्रभावकारिता नदेखाउँदा हिउँद अगावै घर बनाएर सर्ने उनीहरूको योजना पूरा भएन । चिसोकै कारण विस्थापित शिविरमा बालबालिका र वृद्धवृद्धालाई बढी सकस छ । बिरामीको संंख्या दिनहुँ थपिँदै छ ।
जाडोले सकस
सिन्धुपाल्चोक – स्याउलाको छानो, पर्खालले घेरिएको गोठमा घामको किरण कहिल्यै छिर्दैन । घुम्थाङ(४ थगामका ७२ वर्षे मोहन श्रेष्ठले घट्टे गोठमा कयौं रात भोकै बिताएका छन् । घट्ट चल्न छाडेपछि खाली रहेको उक्त गोठलाई उनले आश्रयस्थल बनाएका छन् । तर, चिसोले गर्दा त्यहाँ बसिसक्नु छैन ।
मजदुरीले धानिएका उनी काम पाएका दिन धेरथोर ज्याला पाउँछन् । त्यसैले हातमुख जोर्छन । काम गर्न नसकेको दिन भोकै सुत्नुको विकल्प रहँदैन । बाबुआमाले भएको जग्गा सबै बिक्री गरिदिए । अरूकै जमिनमा बनाएको घर पनि भूकम्पले ढालेपछि उनको दु:खका दिन सुरु भए ।
चिसो बढेसँगै ज्वरोले काँपिरहेछन मोहन । त्यसमाथि बुढ्यौलीले हिडडुल गर्ने शक्ति हराउँदै गएको छ । दम, खोकीले गलाउँदै छ । ‘सम्पत्तिका नाममा एक इन्च जग्गा पनि छैन,’ मोहनले दुखेसो पोखे, ‘टहरा बनाउन नसकेपछि घट्टे छाप्रोमा सुत्छु ।’ आफ्नो नाममा लालपुर्जा नभएकाले उनले आवास अनुदानका लागि सम्झौता गर्न पाएनन् ।
यस्तो बिजोग खेप्न विवश एक्लो पात्र होइनन् मोहन । पांग्रेटारकी ६८ वर्षीया राममाया तिमल्सिना पनि प्वाल परेको जस्तापाताको छानो र काठले बारेको टहरामा कष्ट झेल्दै आएकी छन् । चिसोले हातगोडा सुनिन थालेका छन् । ज्वरो र दमले गलाउँदै लगेको छ ।
‘छोराका नामबाट पाएको पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ भत्केको घर पन्छाउँदै सकियो,’ उनले भनिन्, ‘टहरामा चिसोले मरिन्छजस्तो छ, कहिले न्यानो घरमा बस्न पाइएला ?’ आम्दानी नभएकाले कसैले ऋण पनि नपत्याएको उनले बताइन् ।
पूर्वी भेगका घुम्थाङ, तातोपानी, गाती, मार्मिङ, घुमाङ, लिस्तीकोट, कर्थली, घोर्थली, पिस्करलगायत ३० भन्दा बढी गाविसका पीडितको दैनिक जीवन चिसोले कष्टकर बन्दै गएको छ । आर्थिक अवस्था राम्रो हुनेले पक्की घर ठड्याइसकेका छन् । तर, निम्न आर्थिक अवस्थाकाहरु टहरामै थन्किरहेका छन् ।
‘धनीपुर्जा हुनेले लाखौ रुपैंयाँ ऋण गरेर पनि पुनर्निर्माण थालेका छन्,’ गाती गाउँका टंक शेर्पा भन्छन्, ‘विपन्न सँधै छाप्रोमा ।’ हेलम्बु क्षेत्रको मेलम्चीघ्याङकी याङजेल्मी हेल्मोलाई घाम ताप्न पल्लो डाँडामा जानुपर्छ । भन्छिन्, ‘टहरामा घाम लाग्दैन, चिसोमा बस्न सकिँदैन ।’ मध्य तथा पश्चिम भेगका लेकाली बस्तीमा चिसो ह्वात्तै बढेको छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालयको तथ्यांकअनुसार जिल्लामा अहिले १ हजार ७ सय घर निर्माण चरणमा छन । झन्डै ६ सय घर बनिसकेका छन । जमिन संरचना उठाइसकेका २ सय २५ ले दोस्रो किस्ता माग गरेका छन् ।
जिल्लाका ७९ हजार लाभग्राहीमध्ये झन्डै ५ हजारसँग अझै अनुदानको सम्झौता हुन सकेको छैन । १५ हजारजति गुनासो परेका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण विशेष सम्पर्क कार्यालयका प्रमुख भुवनेश्वर लामिछिनेका अनुसार नगरपालिकाभर दुई सयजति बनाउन सुरु गरेका छन् । चार सय घर नक्सा पासको क्रममा छन् ।
‘छाप्रोमै जुनी बित्नो भो’
दोलखा–चिसो मौसम सुरु भएयता दोलखा बजार गणेश टोलकी ६४ वर्षीया पानु कुसुलेलाई कहिल्यै सन्चो छैन । छाप्रोमा एक्लो जीवन बिताइरहेकी उनलाई पेट दुख्ने र ज्वरो आउने भइहन्छ । चाडोँ घर बनाउन पाए न्यानोमा सर्न पाइन्थ्यो कि भन्ने लागेको छ उनलाई । तर, भूकम्प पीडितको सूचीमा नामै छैन । भन्छिन्, ‘यस्तो दु:खले बसेकी छु, तैपनि सरकारले घर बनाउन अनुदान दिए् ।’
दिनभर घाम तापेर बस्नी उनी रात परेपछि पराल ओढेर चिसो छल्ने प्रयास गर्छिन् । उनका तीन छोरा छन् तर सबै छुटीभिन्न भइसके । पानुको नाम पीडित सूचीबाट छुटेकाले घर बनाउने पैसा पाएकी छैनन् ।
कठ्यांग्रिँदै पीडित
पाल्पा– सहलकोट(९ सुकेकोटका ज्ञानबहादुर राना चिसो बढे पनि टिनको टहरामा रात गुजार्नुपर्ने बाध्यतामा छन् । डाँडाको बस्ती भएकाले उनले पुरानै भत्केकै घरमा एक तला बनाएर टिन राखेका हुन् । ‘मैले त पुरानै ढुंगामाटो प्रयोग गरेर गारो लगाएको छु,’ उनले भने, ‘धेरैले सिठाले बारेर माटोले छेकेका छन् ।’
सहलकोटका ५५ घरपरिवारको अवस्था रानाको जस्तै छ । भूकम्प प्रभावित बस्तीमा गाउँले मिलेर कतिपयले एकतला बनाएका छन् । बस्नै नमिल्ने भएकाले सिठाले बारेर टिनको टहरा बनाएको उनले बताए । सहलकोट, गल्धा, सिलुवा, खालीवन, कोलडाँडा, ठिमुरे लगायतका स्थानका पीडितलाई चिसो थेग्न मुस्किल भएको छ ।
‘पुरानै घरमा अस्थायी टहरो बनाएको हो,’ कोलडाँडाकी कमला गाहाले भनिन्, ‘जाडो थेग्न नसकने भएपछि छिमेकीकोमा शरण लिएकी छु ।’ घर पूरै नभत्केकाले त्यसैलाई मर्मत गरेर जस्तापाताले छाएका छन् । त्यहीँ बस्ने, अन्नपात राख्ने व्यवस्था गरेका छन् । ‘खै सरकारले दिने भनेको पैसा कहिले पाउने हो ?’ कसेनी, ५ सरापकोटका चुराबहादुर रानाले भने, ‘अहिले जेनतेन गुजारा मात्र भइरहेको छ ।’
कम प्रभावित जिल्लाका भूकम्पपीडितका विषयमा सरकार गम्भीर नबन्दा उनीहरू दोस्रो हिउँद पनि टहरामै काटिरहेका छन् । सहलकोटको सुकेकोट र कोलडाँडाको बिस्कुन डाँडामा सबै घर भत्केका छन् । अहिलेसम्म कतिपयले प्रारम्भिक राहतसमेत पाउन सकेका छैनन् । ‘छिमेकी गाविसमा वडा नागरिक मंच र समुदाय बसेर गरेको सिफारिसबाट राहत पाए,’ कोलडाँडाकी कविता सुनारले भनिन्, ‘हाम्रोमा नभत्काईकन दिन मिल्दैन भनेर पाइएन, टिनको टहरामा जाडोले कठांग्रिनुपरेको छ ।’
सहलकोटमा ४५ र कोलडाँडामा मात्रै ७९ घर पूर्ण क्षति भएको छ । कोलडाँडाका ३५ घरपरिवारले मात्र प्रारम्भिक राहत पाएका छन् । मध्यम र सामान्य गरी यहाँ १ सय ९६ घर क्षति पुगेको गाविस सचिव युवराज पाण्डेयले बताए ।
भूकम्पबाट जिल्लाका १ हजार ९ सय १३ घर पूर्ण रुपमा क्षतिग्रस्त भएको जिल्ला प्रशासनले जनाएको छ । प्रशासनका अनुसार अहिलेसम्म १ हजार १ सय ७३ परिवारले मात्र राहतस्वरुप १५ हजार रुपैयाँ लिएका छन् ।
जिल्लामा १ हजार ९ सय १३ पूर्ण क्षति, ४ हजार ७ सय २८ मध्यम र १४ हजार १ सय १३ परिवार भूकम्पबाट पीडित प्रभावित छन् । ‘कम प्रभावितका विषयमा पुसको ८ गते प्राधिकरणबाट बैठक बोलाइएको छ,’ जिल्ला फोकल पर्सन जिविसका वरिष्ठ कार्यक्रम अधिकृत दुर्गा थापाले भने, ‘त्यसपछि केही निर्णय भएर काम अघि बढ्नेछ भन्ने लाग्छ ।’ उनले तथ्यांक संकलन गरेर ११ हजार घर तथा सरकारी कार्यालयमा क्षति पुगेको जानकारी प्राधिकरण पठाइएको बताए ।
(सिन्धुपाल्चोकबाट अनिश तिवारी, दोलखाबाट राजेन्द्र मानन्धर, पाल्पाबाट माधव अर्याल)
VIA – EKANTIPUR.COM