गिजोलियो प्रदेश राजधानीको मुद्दा

उच्च अदालत रहेका स्थानमै प्रदेशसभा सदस्यको शपथ गराउने तयारी , कानुनमन्त्री भन्छन्– राजधानी अब प्रदेशसभाले नै तोक्छ, यो सरकारले तोक्दैन
सरकारले प्रदेशको अस्थायी मुकाम तोक्नैपर्ने संवैधानिक दायित्व समयमै पूरा नगर्दा प्रदेश राजधानीको मुद्दा गिजोलिएको छ । प्रदेश राजधानी माग राख्दै विभिन्न जिल्लामा आन्दोलन चर्किन थालेका छन् ।
प्रदेश १ को राजधानी माग राख्दै आइतबार धनकुटाका सरकारी कार्यालयहरूमा प्रादेशिक मन्त्रालयहरूको साइनबोर्ड राख्नुअघि निकालिएको जुलुस बायाँ र डोटीको दिपायलमा प्रदेश ७ को राजधानी माग गर्दै आइतबारै निकालिएको मैनबत्ती जुलुस ।
राजनीतिक दलका शक्तिशाली नेता, प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधि र अन्य सरोकारवालाले आआफ्नो अनुकूलमा पार्ने ‘लबिइङ’ तीव्र पारेपछि प्रदेश राजधानीको मुद्दा गिजोलिएको हो । आजको कान्तिपुरमा यो खबर छ ।
आन्दोलनहरू चर्किंदै जान थालेपछि सरकारले भने प्रदेशको अस्थायी राजधानी नभनी ‘प्रदेशसभा सदस्यको शपथ र बैठकका लागि अस्थायी स्थान’ तोक्ने विकल्प अघि सारेको छ ।