कतारविरुद्धको नाकाबन्दी हटाउन बेलायतको आह्वान

बेलायतले अमेरिका र फ्रान्सको बाटो पछ्याउँदै कतारमाथिको नाकाबन्दी हटाउनका लागि आह्वान गरेको छ । कतारले आतंकवादविरुद्ध लड्ने प्रतिबद्धता जनाएपछि यस्तो आह्वान आएको हो ।
‘कतारका अमिरले सबै स्वरूपको आतंकवादको सामना गर्ने प्रतिबद्धता जनाउनुलाई मैले स्वागत गरेको छु,’ बेलायतका विदेशमन्त्री बोरिस जोनसोनले आइतवार विज्ञप्ति जारी गर्दै भने । ‘हामीहरू साउदी अरब, युएई, इजिप्ट र बहराइनले नाकाबन्दी हटाउनका लागि कदम चाल्ने आशा गर्न सक्छौं । यसले अन्य विमतिहरूमाथि तात्त्विक छलफल गर्न अवसर दिनेछ ।’
ती चार देशले जुन महिनामा कतारलाई आतंकवादमाथि लगानी गरेको आरोप लगाउँदै उससँगको कूटनीतिक सम्बन्ध तोडेका थिए । कतारी शासक शेख तमिम बिन हमाद अल–थानीले ती देशबाट आफ्नो देशलाई एक्ल्याउने अभियानको भर्त्सना गरेका छन् र यसले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन भएको बताएका छन् ।
आफ्नो देश संवादका लागि खुला रहेको र सार्वभौमसत्तालाई सम्मान गरिए विवाद अन्त्यका लागि पनि खुला रहेको उनी बताउँछन् ।
अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले अघिल्लो हप्ता आतंकवादको सामना गर्ने कतारको प्रयासबाट अमेरिका सन्तुष्ट रहेको बताएका थिए र छिमेकी मुलुकहरूलाई सुनियतको संकेत दिने गरी नाकाबन्दी हटाउन आग्रह गरेका थिए ।
-एजेन्सी/लोकान्तर
