कतारमा संविधान दिवस मनाइयो

नेपालको संविधान दिवस २०७४ को अवसर पारेर कतारस्थित नेपाली राजदूतावासले हिजो एक कार्यक्रम सम्पन्न गरेको छ।
दोहस्थित होलिडे इन होटलमा आयोजित कार्यक्रम कतार तथा नेपालको राष्ट्रियगान बाट शुभारम्भ गरिएको थियो।पाहुनाहरुलाई स्वागत गर्दै कतारका लागि नेपाली राजदुत प्रो रमेश प्रसाद कोइरालाले नेपालमा सन् २०१५ मा जारी भएको संविधान र त्यसपछिको संविधान सभाको स्मरण गर्दै कार्यक्रम मनाउन लागेको जानकारी दिँदै कार्यक्रम अगाडि बढाउनु भएको थियो।
आफ्नो मन्तब्य राख्ने क्रममा प्रो कोइरालाले नेपालको सामाजिक,आर्थिक तथा संस्कृतिको विकासको लागि हरेक वर्गले गरेको कार्यमा संविधानको महत्व बारे प्रष्ट पार्नुभयो।त्यस्तै सन् १९९७ मा स्थापना भएको नेपाल कतार बीचको कुटनीतिक सम्बन्ध अझ प्रगाढ हुँदै गईरहेको बताउनुभयो।
कतार विकासमा अमिर शेख तमिम बिन हमद अल थानीले गरेको नेतृत्वको राजदूत कोइरालाले खुलेर प्रशंसा गर्नुभयो भने आउने दिनहरूमा कतार एक व्यावसायिक केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो।त्यस्तै नेपालमा पनि विभिन्न क्षेत्रमा लगानीको अवसर रहेको उपस्थित सबैमा जानकारी गराउनुभयो।
अन्त्यमा कतारमा रहेका नेपालीले कतार नेपालबीचको सम्बन्ध अझ गाढा,सुदृढ र विविधता बनाउन गरेको भूमिकाको प्रसंशा गर्नुभयो।
कार्यक्रममा प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्रालयका डा. इस्सा साद अल जफली अल नुआइमी,परराष्ट्र मामिमा मन्त्रालय अन्तर्गतको प्रोटोकल विभागका राजदूत इब्राहीम योसिफ अब्दुल्लाह फाख्र लगायत कतारमा रहेका विभिन्न नेपाली तथा कतारी संघ संस्थाका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अगाडि हिजो नेपाली दूतावासको प्राङ्गणमा झण्डा फहराउने कार्यक्रम पनि समापन गरिएको थियो।