अवैध कामदारलाई आममाफी दिने कतार सरकारको घोषणा

कतार सरकारले अवैध कामदारलाई आममाफी दिने घोषणा गरेको छ ।
आईडीको म्याद सकिएका,बिना वर्क परमिट काम गरिरहेका र फेमिली भिसाको नियम पालना नगरेका गैरकानुनी हैसियतका कामदारलाई सरकारले बिना कैद र बिना जरिवाना सहितको कानुनी हैसियत संशोधण गर्न लागेको आन्तरिक मन्त्रालयले बताएको छ ।
सरकारले यो प्रक्रियाको लागि अक्टोबर १० देखि डिसेम्बर ३१ सम्मको समयसीमा तोकेको छ ।
आममाफी प्रकृयामा सहभागी हुन त्यस्ता कामदार वा रोजगारदाताले सर्च एन्ड फलो अप डिपार्टमेन्टमा वा आन्तरिक मन्त्रालयको उम सलाल , उम सुनैम , मेसाइमिर , अल वक्रा र अल रयान सर्भिस सेन्टरमा दिउँसो १ देखि बेलुका ६ बजे भित्र गएर आवेदन पेश गराउनु पर्नेछ ।
आप्रवासीको आवास, प्रवेश र प्रस्थानको नियमन गर्ने सन् २०१५ को कानून नं २१ को प्रावधान अन्तर्गत प्रक्रिया सुरु गरिएको आन्तरिक मन्त्रालयले बताएको छ । साथै यस अभियानमा सहभागी भै जरिवाना तथा कानुनी कारबाही बाट बच्न मन्त्रालयले सम्पुर्ण गैरकानुनी नागरिकलाई आग्रह समेत गरेको छ ।