सिंगापुर माथि नेपालको सहज जित

कतार फुटबल एसोसिएसन (क्युएफए) द्वारा जारी छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिता अन्तर्गतको आफ्नो चौथो खेलमा नेपालले सिंगापुर माथि सहज जित हात पारेको छ।दोहा स्पोर्ट्स स्टेडियममा हिजो राति भएको खेलमा नेपालले सिंगापुर लाई ७- १ गोल अन्तरले हराएको छ।
नेपालको जितको लागि अर्जुन सुब्बाले ह्याट्रिक,गणेश खड्काले दुई,इन्द्रजंग लिम्बू र राकेश सापकोटाले एक एक गोल गरे।खेलको १७ औं मिनेटमा नेपालले पाएको पेनाल्टीलाई अर्जुन सुब्बाले खेर फालेका थिए।त्यसको केही समयमा अर्जुन सुब्बाको गोल मार्फत नेपालले अग्रता लियो।
खेलको दोस्रो हाफमा नेपालले आफ्नो खेल अझ सुधार्दै सिंगापुर माथि लगातार दबाब दिन सफल रह्यो।दोस्रो हाफको छैठौं मिनेटमा राकेश सापकोटाको गोल मार्फत नेपालले अग्रता दोब्बर पार्यो।१० औं मिनेटमा अर्जुन सुब्बा,१९ औं मिनेटमा गणेश खड्का,२८ औं मिनेटमा इन्द्रजंग लिम्बू,३० औं मिनेटमा गणेश खड्का र अन्तिम मिनेटमा पुन अर्जुन सुब्बाले गोल गर्दा नेपालले ७-१ ले जित्न सफल भयो।सिंगापुरले सान्त्वना गोल खेलको २९ औं मिनेटमा गरेको थियो।
जित संगै नेपाल प्रतियोगिताको क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ।हिजोको खेल पछि नेपाल समुह ’बी’ को पहिलो स्थानमा उक्लेको छ।एक खेल कम खेलेको लेबनान समूहको दोस्रो स्थानमा छ। नेपालले समूह चरणको अन्तिम खेलमा मार्च १ तारिख दोहा स्पोर्ट्स स्टेडियममा खेल्दैछ।