दूरी घटाउँदै अर्बिटल हाइवे

भर्खरै सञ्चालनमा आएको अर्बिटल राजमार्ग(हाइवे) र सम्पन्न भएका अन्य हाइवे बारे जानकारी दिन सार्वजनिक कार्य विभाग(इश्घाल) र आन्तरिक मन्त्रालय यतिखेर लागि परेको छ।हाल खुला ट्राफिक ८ हजार सवारी प्रति घण्टा धानिएको यस रोडमा कतारको दक्षिण देखि मध्य हुँदै उत्तर भूभाग सम्म यात्रा गर्न पहिलेको भन्दा ५० प्रतिशतले छिटो हुनेछ।
कतारको सुरक्षित रुट मानिएको यो हाइवेमा पहिले ठूला तथा सानो सवारीको लागि दुई लेन मात्र रहेको थियो।हाल यसमा सात मध्य पाँच लेन खुला गरिएको छ।१२५ किलोमीटर खुला गरिएको यस हाइवेले विभिन्न आवासीय तथा व्यवसाय क्षेत्रमा जोडिन मदत गरेको छ।देशको उत्तर तर्फ आवतजावत गर्न,हमाद अन्तराष्ट्रिय विमानस्थल लगायत औद्योगिक क्षेत्र र दक्षिण मीसाइद क्षेत्रको ट्राफिक सहज बनाउन यो रोड बु जोड इन्टरचेन्जमा जी रिङरोड सँग जोडिन्छ।

त्यस्तै अल विकेर र दक्षिण दोहामा बस्ने बासिन्दाले जी रिङ रोड हुँदै अर्बिटल रोड छिरेर अल खोर, लुसेल र दुखान आउन सक्नेछन्।देशको अर्को मुख्य सल्वा रोड इन्टरचेन्ज २४(मिसाइद) बाट अर्बिटल रोडमा जोडिन्छ।यो क्षेत्रमा औद्योगिक क्षेत्र,आवासीय ऐन खालिद,उम सेनि, अल वाब वा अल मुर्राका यात्रुहरुले सहज ट्राफिकका साथ अल खोर तथा दुखान को यात्रा गर्न सक्नेछन्।
अर्बिटल रोड दुई मुख्य रुटमा विभाजन गरिएको छ।पहिलो उम अस्मिरा इन्टरचेन्ज अल शमाल रोडलाई काट्दै अल खोर तर्फ र अर्को अल मुज्राह इन्टरचेन्ज मा अल शमाल रोडलाई काट्दै लुसैल तर्फ।त्यसैले उम सलाल र अल खिसा तर्फ बाट आउने यात्रुहरुले मिसाइद सम्मको यात्रा दुखान रोड हुँदै मल अफ कतार र त्यसपछि दोहा एक्सप्रेसवे नलिई सल्वा रोड प्रयोग गर्न सक्नेछन्।

अल खोर बाट आउने यात्रुहरुले अर्बिटल रोड प्रयोग गरेर सिधा दुखान रोड हुँदै अल शीहानियाको बाहिरी व्यवसायिक क्षेत्र पुग्न सक्नेछन्।साथै त्यहाँ बाट सल्वा रोड लिएर जी रिङ रोड हुँदै दक्षिण दोहा वा हमाद विमानस्थल लगायत अल वक्रा, वुकेर मिसाइद पनि पुग्न सक्नेछन्।
