कतारले नेपालको पानी किन्ने : राजदूत

कतारले सन् २०१९ सम्ममा नेपाल बाट ठूलो मात्रामा मिनरल बोतलको पानी आयात गर्ने तयारी गरिरहेको कतारका लागि नेपाली राजदूत रमेश प्रसाद कोइरालाले बताउनुभएको गल्फ टाइम्स पत्रिकाले लेखेको छ।नेपालमा मिनरल बोतल पानीको उत्पादन लागि हाल तयारी भइरहेको र कतारी व्यवसायीहरु त्यसका लागि सेप्टेम्बर भित्र नेपाल जानेछन्।त्यस्तै नेपालको तर्फ बाट पनि आगामी दिनमा कतारी व्यापारी सँग थुप्रै व्यावसायिक छलफल गर्ने योजना बनेको छ।
“नेपालमा प्रयाप्त हिमालहरू छन्,जसबाट हामीले स्वच्छ पानी पाउँछौ।हामीले यी प्राकृतिक श्रोतहरू अन्तराष्ट्रिय क्षेत्रमा निर्यात गर्न चाहन्छौ”,कोइरालाले हालसालै कतारमा आयोजित एक व्यावसायिक फोरममा पत्रकार माझ बताउनुभएको थियो।कोइरालाको अनुसार यस परियोजना कतार र नेपाल बीचको द्विपक्षीय व्यापार सम्बन्ध विस्तार गर्न विभिन्न अभियान मध्येको एक पाटो हो।त्यस्तै नेपाल बाट तरकारी तथा फलफूल आयत गर्न सके कतारले गरिरहेको खाद्य सुरक्षामा नेपालको समर्थन हुने कोइराला बताउनुहुन्छ।
त्यस्तै सन् २०१९ भित्रमा नै कतारमा नेपाली विद्यालय खोल्ने दूतावासले आशा गरेको छ।दोस्रो ठूलो जनसंख्या भएको नेपाली समुदायको विद्यार्थीको लागि विद्यालय खोल्न कतारी प्रतिनिधिहरू सँग छलफल भइसकेको छ।त्यस्तै नेपाली कला संस्कृती प्रदर्शन गर्न र विभिन्न कार्यक्रम आयोजना गर्न मिल्ने नेपाली सांस्कृतिक सभाहल स्थापना गर्न तयारी पनि भइरहेको कोइरालाले बताउनुभएको छ।
