श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

कतार फुटबल एसोसिएसन द्वारा जारी छैठौं एसियन आप्रवासी फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलमा नेपालले श्रीलंकालाई हराउन सफल भएको छ।हिजो दोहा स्पोर्ट्स स्टेडियममा भएको खेलमा नेपालले श्रीलंकालाई २-० गोल अन्तरले हराएको हो।जीत सँगै नेपाल सेमिफाइनलमा पुगेको छ।

खेलको पहिलो हाफमा गोलरहित बराबरी खेलेको नेपाली टोलीले थुप्रै मौका खेर फालेको थियो।दोस्रो हाफको छैठौं मिनेटमा स्ट्राइकर अर्जुन सुब्बालाई श्रीलंकन खेलाडीले लडाउँदा पाएको फ्री किकमा कप्तान शिव श्रेष्ठले उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए।त्यस्तै खेलको १९ औं मिनेटमा अर्जुन सुब्बाको पासलाई सदुपयोग गर्दै राकेश सापकोटाले गोल गर्न सफल भए। बाँकी समय दुवै टिम बाट गाेल हुन सकेन र नेपालले खेल २-० ले जित्न सफल भयो।खेलमा कप्तान शिव श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए।

नेपालले आज बंगलादेश विरुद्ध लेबनान बीच हुने खेलको विजेता सँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।खेल मार्च २२ मा दोहा स्पोर्ट्स स्टेडियममा हुनेछ।