कामदारले कतार आउन तिरेको पैसा फिर्ता पाउने

विश्वकप रंगशाला निर्माणको काम गर्दै आईरहेका श्रमिकले कतार आउन म्यानपावरलाई तिरेको रकम फिर्ता पाउने भएका छन्।कतारको यस अभियानलाई अन्तराष्ट्रिय ट्रेड युनियन महासंघले स्वागत समेत गरेको छ।यो सँगै मार्च महिनाको अन्त्य भित्र रकम तिरेको प्रमाण जुटाउन सक्ने ५५०० दक्षिण एसियाली कामदारले कतार आउन म्यानपावरलाई तिरेको पैसा फिर्ता पाउने आजको गल्फ टाइम्सले लेखेको छ।
सन् २०१९ भित्र रंगशाला निर्माणमा पुग्ने ३० हजार जनशक्तिको समेत लागत खर्च फिर्ता गराउने ३.६ मिलियन यूरो बराबरको अभियान लागू गर्न कतारले कम्पनी सँग सम्झौता गर्दैछ। अन्तराष्ट्रिय महासंघले कतारको यो अभियानलाई न्यून स्तरको कामदार ऋणमा डुब्ने प्रणाली विरुद्ध सकारात्मक कदम हुने भन्दै व्याख्या गरेको छ।
कतारको मानव अधिकार रेकर्ड सुधार गर्न विश्वकप रंगशाला निर्माणको जिम्मा लिएको सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी(एससी)ले कामदारको पैसा फिर्ता गर्ने अभियान चलाएको हो।
दक्षिण एसिया बाट हरेक वर्ष कमाउने सपना बोकेर लाखौं कामदार विदेश पलायन हुन्छन् तर विडम्बना उनीहरू प्राय लागत खर्चको ऋणमा डुब्ने समस्यामा पर्दछन।कतारको यो अभियान अन्तर्गत कामदारको करार अवधि भित्र मालिकले पैसा फिर्ता गर्नेछन्।
कामदारले फिर्ता पाउने पैसा भने उनीहरूको स्वदेश अनुसार फरक पर्नेछ।अन्तराष्ट्रिय ट्रेड युनियन महासंघको तथ्याङ्क अनुसार कतार आउन सामान्यतया एक कामदारले एक लाख १० हजार रुपैयाँ तिर्नुपर्दछ।त्यस्तै यो भारतमा ७४ हजार रुपैयाँ र फिलिपिन्समा २५ हजार पेसो रहेको छ। एम्नेष्टी इन्टरनेशनल निरीक्षकको अनुसार खाडी राज्य आउन प्राय नेपालीले एक लाख पचास हजार सम्म पनि तिर्दै आइरहेका छन्।