दोहा बैंकले नेपालमा शाखा खोल्ने

एसियन राष्ट्रमा आफ्नो शाखा विस्तार गर्ने योजना कार्यान्वयन गर्दै कतारस्थित दोहा बैंकले नेपालमा पनि शाखा खोल्ने भएको छ।नेपालको जलविद्युत तथा पर्यटन व्यवसायमा कतारी लगानी भित्राउने उदेश्यका साथ बैंकले मे महिनाको पहिलो हप्ता देखि कारोबार सुरु गर्ने भएको छ ।त्यसका लागि बैंकले नेपाल राष्ट्र बैंक बाट अनुमति पाइसकेको कान्तिपुर दैनिकले लेखेको छ।
‘ बैंकले मे महिनाको पहिलो हप्ताबाटै काम सुरु गर्ने जानकारी हामीलाई दिएको छ,’ कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाले कान्तिपुरसँग भने, ‘बैंक सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा भइसकेको छ ।’

दोहा बैंकले बेलायत, जापान, चीन,अस्ट्रेलिया, दक्षिण अफ्रिका, टर्कीसहित १३ देशमा अन्तर्राष्ट्रिय प्रतिनिधिका रूपमा आफ्नै बैंक स्थापना गरिसकेको छ । त्यस्तै कुबेत, दुबई, आबुधाबी, भारतको मुम्बई र कोचीमा बैंकको शाखा स्थापना भइसकेको छ ।
‘बैंकले आफ्नो अन्तर्राष्ट्रिय प्रतिनिधि नेपालमा राख्नु कतारी लगानी लैजाने बाटो खुल्नु हो,’ राजदूत कोइरालाले भने, ‘कतारीहरू आफ्नै बैंकलाई विश्वास गर्छन् । यो बैंकले नेपालका स्थानीय बैंकमार्फत आफ्नो कारोबार गर्नेछ ।’
नेपालको हाइड्रोलगायत सम्भावित क्षेत्रमा कतारीहरू लगानी गर्न इच्छुक भए पनि रकम लैजान झन्झटिलो प्रक्रिया भएकाले काम अगाडि बढ्न नसकेको कोइरालाले बताए । ‘कतारीहरू हाइड्रो, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न इच्छुक छन् । कतारीको आफ्नै बैंक नभएकाले अरूलाई विश्वास गरिरहेको थिएन,’ उनले भने, ‘दोहा बैंक गएपछि लगानी जान पनि थाल्नेछ ।’
राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितका अनुसार दोहा बैंकले नेपाल र विदेशीबीच सहजीकरण गर्नको लागि अनुमति दिएको हो । ‘व्यक्तिगत कारोबार गर्न पाउने छैन । विदेशबाट ल्याउने लागनीलाई सहजीकरण गर्न मात्रै पाउनेछ,’ पण्डितले भने ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कतारले व्यावसायिक प्रयोजनको लागि मात्रै कतारी लगानी प्राधिकरणमार्फत कम्तीमा ३ सय ३५ बिलियन डलर घरजग्गा, खेलकुद, पर्यटन र ऊर्जामा लगानी गरिसकेको छ । विश्व वजारमा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीको सेयर खरिद गर्दैै आएको छ । नाकाबन्दीपछि कतारले टर्कीमा लगानी बढाइरहेको छ । कतार लगानी प्राधिकरणले मलेसियाको पेट्रोकेमिकल क्षेत्रमा ५ बिलियन डलर, भारतमा दुई सय बिलियन डलर, चीनमा १० बिलियन डलर र अमेरिकामा ३५ बिलियन डलर लगानी भइरहेको बताइएको छ । ‘विश्व बजारमा लगानी बढाइरहेको कतारको लगानी नेपालमा आउन सकेको छैन,’ राजदूत कोइरालाले भने, ‘हामी श्रम कूटनीतिसँगै आर्थिक कूटनीति बढाउने काम भइरहेको छ । फेरि लगानी गर्न उपयुक्त वातावरण भएकाले कतारको लगानी नेपाल लैजान प्रयासरत छौं ।’