आईएलओले कतारमा कार्यालय खोल्यो

अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ)ले हिजो कतारमा आफ्नो कार्यालय खोलेको छ । गत वर्षको अक्टोबर महिनामा कतार सरकार र आईएलओ बीच भएको प्राविधिक सहकार्य सम्झौता अनुरुप कार्यालय स्थापना भएको हो । तीन वर्षे सम्झौता अन्तर्गत कतारमा श्रम कानूनलाई प्रोत्साहन गर्ने,सरकारी कार्यालयहरू लाई कानून कार्यान्वयन गर्न मजबुद बनाउने र श्रमिकको आधारभूत आवश्यकता अन्तराष्ट्रिय मापदण्ड अनुसार पूर्ति गर्ने रहेको छ।कार्यालय खाडी क्षेत्रमै पहिलो पटक कतारमा स्थापना भएको हो ।
श्रमिकको तलब सुधार्ने, स्वास्थ्य तथा सुरक्षाको निरीक्षण गर्ने, कामको करार अवधि कार्यान्वयन गर्ने, जबरजस्ती श्रम तथा मानव बेचबिखनविरुद्ध उभिने, कामदारको समस्या चाँडो सुल्झाउन दबाब दिने लगायतका कार्यहरूमा सम्झौता केन्द्रित हुने बताइएको छ ।
कार्यालय उद्घाटन समारोहमा बोल्दै प्रशासनिक विकास,श्रम तथा सामाजिक मामिला मन्त्री डा इसा विन साद अल जफली अल नुआइमिले कार्यालय स्थापनाको कतारले भव्य स्वागत गरेको बताएका छन्।’श्रमिकको अधिकार सुरक्षित गर्न कतार महत्वपूर्ण ढंगले अघि बढिरहेको प्रष्ट छ।,’ उनले भने ।
दोहास्थित स्थापना भएको कार्यालयले कतार सरकार र आईएलओ बीचको सहकार्यलाई सुविधा दिनेछ । यसले श्रम मन्त्रालयको मातहतमा रहेर कार्य गर्नेछ ।
घरेलु कामदारको कानून,सुरक्षित ज्याला,गर्मी महिनामा गर्नुपर्ने कार्य समय लगायतका विषयहरूमा जनचेतना फैलाउन यस कार्यालयले मे महिनामा वर्कशप सञ्चालन गर्नेछ ।
कँहा छ त अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को कतार कार्यालय ?
अन्तर्राष्ट्रिय श्रम संगठनको कार्यालय (International Labour Organization Qatar)
कतार टावर, वेष्ट बे, दफ्ना, बिल्डिङ नम्बर ३५, जोन ६३, स्ट्रीट नम्बर ९२० मा रहेको छ ।
*जुन १ तारिक २०१८ देखी यस कार्यालयमा एकजना नेपाली स्वयंसेवक पनी रहनुहुनेछ ।कतारी श्रम कानून अनुसार समस्या समाधान नभए यस कार्यालयमा गएर निवेदन दिन सकिनेछ।