रमादान महिनामा गर्न हुने/नहुने कुराहरु

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना “रमादान” केही दिनमा सुरु हुँदैछ।रमादान विश्वभरका मुस्लिमहरुले वर्त बस्ने इस्लामिक क्यालेण्डरको नवौं महिना हो ।यो महिनालाई इस्लाम धर्मको ५ खम्बा मध्ये एकको रुपमा पनि लिने गरिन्छ।यो महिनामा धूम्रपान,मदिरा सेवन,झुटो बोल्नु,शारीरिक सम्बन्ध राख्नु जस्ता कुराहरू धर्म विपरीत मानिन्छ।
गर्न हुने कुराहरू
१.आफूले चिनेजानेको वा कार्यालयमा रहेका साथीभाई,कर्मचारी संग रमादानको शुभकामना आदानप्रदान गर्नुहोस्।शुभकामना “रमादान करीम” अथवा “रमादान मुबारक” भनेर दिन सकिन्छ।
२.रमादान महिनामा बैंक,कार्यालय,मार्केट सपिङ कम्प्लेक्स,मल,रेस्टुरेन्ट लगायत अन्य संस्थाले खुल्ने समय परिवर्तन गर्नेछन्।त्यसैले त्यस्ता स्थानमा जानुअघि त्यहाँको कार्य समय बारे बुझेर मात्र जानुहोला।
३.साधारण कपडा लगाउनुहोस्।त्यसैपनि कतारमा विषेशगरी महिलाले शरीर देखाउने गरी लुगा लगाएको राम्रो मानिंदैन।अझ रमादानको समयमा छोटो कपडा लगाउँदा अफ्ट्यारोमा पर्न सकिन्छ।
४. वर्त बस्नुहोस्।रमादानको समयमा ईच्छा लागेका वा सक्नेले वर्त बस्नु इस्लाम धर्म विपरीत होइन। वर्त बस्नु शरीरको लागि राम्रो मानिन्छ।
५. इफ्तार,सुहोर(वर्त बस्नु अघि र वर्त तोड्न खाइने खाना) मा सहभागी हुनुहोस्। रमादानको समयमा विभिन्न स्थानमा दिइने निशुल्क भोजन जो कसैले पनि गर्न पाइन्छ।
६.मन्त्रालय,सरकारी कार्यालय संग सम्बन्धित सबै कार्यहरू रमादान अघि सकाउनुहोस्।रमादानको समयमा सरकारी काम ढिला हुनु स्वभाविक हो।
७.इफ्तार(वर्त सकिने समय) को समय अघि सवारी चालकले विशेष ध्यान पुर्याउनुहोला।यो समयमा सवारीको आवतजावत र गति तिब्र हुनेगर्दछ।
८. वर्त बस्दै हुनुहुन्छ भने केही खाना सवारी वा कुनै सुरक्षित स्थानमा राख्नुहोस्।यसो गर्दा इफ्तारको समय सुरु भइसके पनि कोठा वा खाना खाने स्थान सम्म पुग्न लागि कुर्नुपर्दैन।

गर्न नहुने कुराहरु
१. वर्त बसिरहेकाहरुको अगाडी खान,पिउन र धुम्रपान नगर्नुहोला।गर्नै परेपनि सोधेर वा लुकेर गर्नुहोला।कतारमा रमादानको वर्तको समयमा सार्वजनिक स्थानमा बसेर खान,पिउन गैरकानुनी मानिन्छ।
२.सार्वजनिक स्थानमा वा वर्त बस्नेहरुको अगाडी मदिरा सेवन नगर्नुहोस। रमादानको समयमा मापसे गर्नु पूर्णरुपमा गैरकानुनी हो।त्यस्तै रमादानको महिनाभर बार,लाउन्ज, रात्री क्लब लगायत मदिरा वितरक केन्द्र समेत बन्द हुने गर्दछ।
३.वर्त बस्नेहरूले कम काम गर्नुहोस्।यो समयमा निजी संस्थाहरुले पनि साधारण कार्य समय ६ घण्टा बढी लगाउन पाउँदैनन्।
४. वर्त सकाएपछि जिम वा कडा कसरत नगर्नुहोस्।सकेसम्म यो महिना शरीरलाई आराम दिनुहोस्।
५. सपिङ सेन्टर, मल लगायत अन्य भिडभाड हुने ठाउँ इफ्तारको समय पछि नजानुहोस्।यो बेला सवारी तथा मानिसको चाप धेरै हुनाले समस्यामा पर्न सकिन्छ।