शनिबार अमिर कपको फाइनल हुँदै

४६ औं अमिर कपको फाइनल खेल आउने शनिबार खलिफा अन्तराष्ट्रिय रंगशालामा हुँदैछ।गत महिना देखि सुरु भएको यो वर्षको प्रतियोगिताको फाइनल खेलमा अल दुहेल र अल रेयान क्लबले प्रतिस्पर्धा गर्नेछन्।अमिर शेख तमिम विन हमाद अल थानीको उपस्थितिमा खेल राति ९:४५ बजे बाट सुरु हुने तय गरिएको छ।खेलका लागि टिकट दर १० देखि १५० रियाल सम्म राखिएको छ।

अमिर कप
अमिर कप कतारमा आयोजना हुने घरेलु फुटबल प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो।यसको सुरुवात सन् १९७२ देखि भएको हो।पहिलो र दोस्रो डिभिजनका जम्मा १८ टिमले प्रतियोगितामा भाग लिने गर्दछन्।हाल सम्म प्रतियोगिताको सबैभन्दा बढी उपाधि अल साद क्लबले १६ औं पटक जितिसकेको छ।प्रतियोगिताको पहिलो विजेता भने अल अहली क्लब रहेको छ।जारी प्रतियोगिता अमिर कपको ४६ औं संस्करण हो।
फाइनल खेल हेर्न सम्पूर्ण नेपाली दर्शकहरुको लागि निशुल्क टिकट र इफ्तार खाना क्युएन खबरले उपलब्ध गराउनेछ।
अल दुहेल विरुद्ध अल रेयान
यो वर्ष प्रतियोगिताको फाइनल खेलमा अल दुहेल र अल रेयान क्लब बीच प्रतिस्पर्धा हुँदैछ।दुहेलले डिफेन्डिङ च्याम्पियन अल सादलाई १-० र रेयानले अल घराफालाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

खलिफा अन्तराष्ट्रिय रंगशाला
यो वर्ष प्रतियोगिताको समापन समारोह सँगै फाइनल खेल खलिफा अन्तराष्ट्रिय रंगशालामा हुँदैछ।यो रंगशाला कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकप मध्ये निर्माण सम्पन्न भएको पहिलो रंगशाला हो।कतारको गर्मी छल्न एसी सिस्टम प्रयोग गरिएको यो रंगशाला विश्वकै पहिलो एलईडी लाइट जडित विश्वकप रंगशाला पनि हो।
पुरस्कार
फाइनल खेल हेर्न आउने दर्शकहरुको लागि विभिन्न पुरस्कारहरू पनि राखिएको छ।लक्की ड्र मार्फत दर्शकहरुलाई ८ वटा बीएमडब्लु सँगै ल्यापटप,मोबाइल फोन,ट्याब्लेट लगायत अन्य २५० बढी पुरस्कार वितरण गरिनेछ।