बिहीबार रमादान महिनाको पहिलो दिन

यो वर्ष इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना ‘रमादान’को पहिलो दिन बिहीबार पर्ने पक्का भएको छ ।तिथीअनुसार बुधबार बाट सुरु हुने भनिएको रमादान आज चन्द्रमा नदेखिएका कारण बिहीबार बाट सुरु हुने अकफ तथा इस्लामिक मामिला मन्त्रालयले जनाएको छ।

रमादान महिना

मुस्लिम समुदायले एक महिनासम्म दिनभर कठोर ब्रत(रोजा) बसी यो पर्व मनाउने गर्दछन्।इस्लामी पात्रो हिजरी संवत्अनुसार आठौं ‘साबान’ महिनाको अन्तिम दिनमा आकाशमा चन्द्रमा उदाएको भोलि बाट रोजा बस्न सुरु हुन्छ ।पात्रो अनुसार अन्तिम दिन चन्द्रमा नाउदाए स्वत पर्सी बाट रमादान महिनाको सुरुवात हुने चलन छ।

इस्लामका पाँच आधार स्तम्भ इमान (आस्था), नमाज (प्रार्थना), हज (तीर्थ), जकात (दान) र कल्मामध्ये रोजा (व्रत) एक खम्बा हो । अरू महिनाका तुलनामा रमादान महिनालाई मुसलमानले धर्मावलम्बीहरूले पवित्र महिनाका रूपमा विश्वास गर्छन् ।

रमादान महिना दान गर्ने महिना पनि हो । धनाढ्यले गरिब र विपन्नलाई आर्थिक सहयोग समेत गर्दछन् । शास्त्र अनुसार बालिग (वयस्क) मुसलमानलाई रोजा अनिवार्य छ । धनी, गरिब कसैलाई छुट छैन । मुसलमान समुदायमा रमादानले विशेष महत्त्व राख्छ ।

यस महिनामा नै इस्लामका प्रवर्तक हजरत मोहम्मदमाथि कुरआनका आयात (श्लोक) अवतरण सुरु भएको थियो । महिनाको अन्तिम दसांशको कुनै एक बिजोडी रातमा कुरआनको अवतरण सुरु हुन थालेको थियो । रोजा बस्ने व्यक्तिले सूर्योदय हुनुभन्दा झन्डै डेढ घण्टा पहिलेदेखि सूर्यास्त नहुन्जेलसम्म कुनै पनि खानेकुरा सेवन गर्दैनन् । रोजा बस्नाले मानिसमा आज्ञापालन, अनुशासन, नम्रता, सत्प्रियता, संयम, सहनशीलता, सदाचारी, त्याग, परोपकार, दया, दानशीलता लगायतका आचरणमा विकास आउने विश्वास छ ।

यो महिनामा कुरआनको वाचन, नमाज पढ्ने र गरिब एवं विपन्नहरूलाई सहयोग गर्ने अवसर पनि हो । नाबालिक अवस्था, भोक तिर्खा सहन नसक्ने बुढ्यौली अवस्था, सिकिस्त बिरामी, रजस्वला भएकी महिला र सुत्केरीका लागि रोजा अनिवार्य छैन ।

जानीजानी खानपिन गर्नाले, शक्तिवद्र्धक सुई लिनाले, नशाबाट औषधि प्रवेश गराउनाले अर्थात् स्लाइन चढाउनाले, वीर्य स्खलन गर्नाले र बान्ता निलेमा व्रत अन्त्य (भंग) हुन्छ । शरीरमा तेल लगाउनाले, दाँत माझ्नाले, भुलेर खानपिन गर्नाले, स्वप्नदोष हुनाले, बान्ता हुनाले, सुगन्ध वा सेन्ट लगाउँदा भने रोजा भंग हुँदैन ।
सूर्यास्त भएपछि रोजा बस्नेहरू केही खाने कुरा खाएर रोजा तोड्छन्, त्यस कार्यलाई ‘इफ्तारी गर्नु’ भनिन्छ । विशेषगरी इफ्तारमा खजुर, मिठाइ, फलफूललगायत खानेकुरा खाइन्छ ।

रमादान महिनाको अन्तिम दस भागका पनि विजोडा रातहरू अझ महत्त्वपूर्ण मानिन्छन् । एक महिने रोजाका अन्तिम विजोडी रातहरू २१, २३, २५, २७ र २९ ले विशेष महत्त्व राख्छ । ती बिजोडा रातमध्येको कुनै एक रातमा साउदी अरबको हेरा भन्ने गुफामा अल्लाहको ध्यानमा केन्द्रित भइरहेको बेला ‘जिब्रिल’ भन्ने देवदूतमार्फत पहिलो पटक मोहम्मदमाथि पवित्र धर्मग्रन्थ कुरआन अवतरण भएको किम्बदन्ती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button