अमिर कप हेर्न जाँदा थाहा पाउनुपर्ने कुराहरू

४६ औं अमिर कपको फाइनल खेल आज शनिबार खलिफा अन्तराष्ट्रिय रंगशालामा हुँदैछ।गत महिना देखि सुरु भएको यो वर्षको प्रतियोगिताको फाइनल खेलमा अल दुहेल र अल रेयान क्लबले प्रतिस्पर्धा गर्दैछन्।खेल हेर्न र विजेता टिमलाई पुरस्कार वितरण गर्न अमिर शेख तमिम विन हमाद अल थानीको उपस्थिति रहनेछ।
तपाईंपनि आजको फाइनल खेल हेर्न जाने सोचमा हुनुहुन्छ भने यी कुराहरू जान्न आवश्यक हुनसक्छ ।

अमिर कप
अमिर कप कतारमा आयोजना हुने घरेलु फुटबल प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता हो।यसको सुरुवात सन् १९७२ देखि भएको हो।पहिलो र दोस्रो डिभिजनका जम्मा १८ टिमले प्रतियोगितामा भाग लिने गर्दछन्।हाल सम्म प्रतियोगिताको सबैभन्दा बढी उपाधि अल साद क्लबले १६ औं पटक जितिसकेको छ।प्रतियोगिताको पहिलो विजेता भने अल अहली क्लब रहेको छ।जारी प्रतियोगिता अमिर कपको ४६ औं संस्करण हो।
फाइनल खेल हेर्न सम्पूर्ण नेपाली दर्शकहरुको लागि निशुल्क टिकट र इफ्तार खाना क्युएन खबरले उपलब्ध गराउनेछ।
अल दुहेल विरुद्ध अल रेयान
यो वर्ष प्रतियोगिताको फाइनल खेलमा अल दुहेल र अल रेयान क्लब बीच प्रतिस्पर्धा हुँदैछ।दुहेलले डिफेन्डिङ च्याम्पियन अल सादलाई १-० र रेयानले अल घराफालाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

खलिफा अन्तराष्ट्रिय रंगशाला
यो वर्ष प्रतियोगिताको समापन समारोह सँगै फाइनल खेल खलिफा अन्तराष्ट्रिय रंगशालामा हुँदैछ।यो रंगशाला कतारले सन् २०२२ मा आयोजना गर्ने विश्वकप मध्ये निर्माण सम्पन्न भएको पहिलो रंगशाला हो।कतारको गर्मी छल्न एसी सिस्टम प्रयोग गरिएको यो रंगशाला विश्वकै पहिलो एलईडी लाइट जडित विश्वकप रंगशाला पनि हो।

टिकट (गेट नम्बर ७)
फाइनल खेलका लागि टिकट दर १० देखि १५० रियाल सम्म तोकिएको छ।तर सम्पूर्ण नेपाली दर्शकहरुको लागि क्युएन खबरले गेट नम्बर ७ (दक्षिण तर्फ)मा बेलुका ५:३० बजे बाट निशुल्क टिकट उपलब्ध गराउनेछ। इफ्तार खानाको लागि भने तपाईं ५:३० भित्र रंगशाला आइपुग्नु पर्नेछ।
प्रवेश र खेल हुने समय
खेलका लागि रंगशालाको प्रवेशद्वार बेलुका ७:३० देखि खुला गरिनेछ।बीच केही कार्यक्रम पछि खेल राति १०:१५ बजे सुरु हुनेछ।
पुरस्कार
फाइनल खेल हेर्न आउने दर्शकहरुको लागि विभिन्न पुरस्कारहरू पनि राखिएको छ।लक्की ड्र मार्फत दर्शकहरुलाई ८ वटा बीएमडब्लु सँगै ल्यापटप,मोबाइल फोन,ट्याब्लेट लगायत अन्य २५० बढी पुरस्कार वितरण गरिनेछ।पुरस्कार तपाईंको टिकट नम्बर अनुसार हुनेछ र विजेता खेलको मध्यान्तरमा घोषणा गरिनेछ।
पार्किङ
फाइनल खेल हेर्न आउने दर्शक,भिआइपी,विशेष आवश्यक दर्शक लगायतलाई आयोजकले पार्किङ स्थल छुट्याएको छ।यसको मतलब तपाईंले जथाभावी पार्किङ गर्न पाउनुहुन्न।साधारण दर्शकले पार्किङको लागि तल चित्रमा देखाइएको सुन्तला रंगको लाइन पछ्याउनु होला।
