सन्दीपको उत्कृष्ट प्रदर्शन, दिल्लीले मुम्बईलाई ११ रनले हरायो

नेपाली लेगस्पिनर सन्दीप लामिछाने र भारतीय स्टार बलर अमित मिश्राको उत्कृष्ट प्रदर्शनले आईपीएलको अन्तिम खेलमा दिल्ली डेयरडेभिल्स ११ रले विजयी भएको छ । दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बई १६३ रनमै अलआउट भयो । दिल्लीलाई जिताउन नेपाली लेग स्पिनर सन्दीपले ३, मिश्राले ३ र हर्षल पटेलले ३ विकेट लिए भने टे«ण्ट बोल्टले एक विकेट लिए ।
आईपीएलको अन्तिम खेलमा सन्दीपले चार ओभर बलिङ गर्दै ३६ रन दिएर महत्वपूर्ण ३ विकेट लिए । इनिङको पहिलो ओभर लिएर आएका सन्दीपले सुरुवाती विकेट लिए । उनले मुम्बईका खतरनाक व्याट्सम्यान सूर्यकुमार यादवलाई क्याच आउट गराए । सन्दिपको पहिलो बलमा चौका, दोस्रो बलमा छक्का प्रहार गरेका सूर्यकुमार चौथो बलमा क्याच आउट हुन पुगे । तेस्रो बलमा २ रन र पाँचौ बलमा एक रन र अन्तिम बलमा कुनै रन दिएनन् ।
आफ्नो दोस्रो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा नै किरन पोलार्ड र चौथो बलमा कृष्णलाई आउट पारे । दोस्रो ओभरमा सन्दीपले ६ रन मात्रै दिए ।
तेस्रो ओभरमा एक छक्का र एक चौकासहित सन्दीपले १३ रन खर्चिए । अन्तिम ओभरमा सन्दीपले भने किफायति बलिङ गरे । कुनै बाउन्ड्री नदिई चार रन मात्रै दिए । चार ओभरमा १० डटबल फालेका सन्दिपले ३ चौका र २ छक्का खाए ।
मु्म्बईका बेन कटिङले आक्रामक व्याटिङ गर्दै २० बलमा ३७ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । कटिङलाई हर्षल पटेलले क्याच आउट गराए । ग्लेन म्याक्स्वेल र ट्रेण्ट बोल्टले उत्कृष्ट क्याच लिए । यस्तै इभिन लेवीईसले ४८ रन बनाए । कप्तान रोहित शर्मा १३ रन मात्रै बनाउन सके ।
यसअघि टस जितेर पहिले व्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । उसका लागि रिषभ पन्तले ६४, विजय शंकरले ४३, ग्लेन म्याक्स्वेलले २२, अभिषेक शर्माले १५, पृत्वी शले १२ र कप्तान श्रेयस एयरले ६ रन बनाए । मुम्बईका हार्दिक पाण्डे र मारकाण्डेले एक/एक विकेट लिए ।
आजको जितसंगै दिल्लीले ५ जितसंगै १० अंक बनाउँदै प्रतियोगिता टुङग्याएको छ । यस्तै आजको हारसंगै मुम्बई १२ अंकका साथ प्रतियोगिताबाट बाहिरएको छ । आजको खेलमा जितेको भए मुम्बई प्लेअफमा पुग्ने मौका थियो । आजको खेलमा प्लेयर अफ दि म्याच अमित मिश्रा घोषित भए ।