एक नेपालीलाई ‘गोली हानी’ मृत्युदण्ड दिन कतार अदालतको आदेश जारी

कतारको अदालतले नेपाली नागरिक अनिल चौधरीलाई हत्या अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ ।
कतारी नागरिक मोहम्मद उमैर अल रामजानी अल नुएमीको हत्या आरोपमा कतारको तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको अध्यक्षतामा बसेको इजलासले अनिल चौधरीलाई ‘गोली हानी’ मृत्युदण्ड दिने फैसला सुनाएको हो ।
२०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका चौधरीले घुम्न गएको बेला मृतक मोहम्मदको पैसा लुटेर हत्या गरेको आरोप कतारी पुलिसले लगाएको छ । हत्या पछी चौधरीले पैसा लुटेको र लुटिएको पैसा चौधरीबाट बरामद पनि गरेको कतार प्रहरीले बताए पनि अभियुक्त चौधरीले नेपाली दूतावास प्रतिनिधिसँगको भेटमा आफू निर्दोष रहेको बताएका छन् ।
कतारस्थित नेपाली दूतावासले चौधरीको सहमतिमा उक्त फौसलाविरुद्ध पुनरावेदन गर्न पाउने नियमअनुसार चौधरीको जीवन रक्षाका लागि कतारको पुनरावेदन अदालतमा मुद्दा दर्ता गरीसकेको छ ।
कतारी अदालतका अतिरिक्त यहाँका राजासँग चौधरीको जीवन रक्षाका लागि नेपाल सरकारले कूटनीतिक पहल गर्न पनि सक्ने व्यवस्था छ । चौधरीको जीवन रक्षाका लागि अन्तर्राष्ट्रिय क्याम्पेन गर्न पनि सकिन्छ ।
स्मरण रहोस् हालसम्म नेपालीद्वारा कतारी नागरिककै हत्या गरिएको यो घटना पहिलो हो र नेपाली मध्ये चौधरीविरुद्व आएको आदेश सबैभन्दा कडा पनि ।