सुशिला कार्की सरकार बर्खास्त गर्न माग गर्दै चितवनमा संयुक्त संघर्ष समिति गठन

चितवन, पुस २५-
जेनजी आन्दोलपछि बनेको सुशिला कार्की सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधानका लागि चितवन जिल्लाबाट संयुक्त संघर्ष अघि बढाइने भएको छ । नेपाल क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा (बहुमत), नेपाल वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी र नेकपा (जनपक्ष) को आज चितवनमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
देशको वर्तमान संकटपूर्ण परिस्थितिको सन्दर्भमा अग्रगामी राष्ट्रिय निकासको लागि विरेन्द्र बहुमुखी क्याम्पसमा बसेको ५ कम्युनिष्ट पार्टीको संयुक्त बैठकले चितवनमा संयुक्त संघर्ष समिति गठन गर्नेसहित ४ निर्णय गरेको छ । बैठकले स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितीमा हुने जनविरोधी बहिष्कार गर्न अपिल समेत गरेको छ । यस्तै सार्वभौम राष्ट्रिय स्वाधीनताको रक्षा तथा अग्रगामी राष्ट्रिय निकास निकाल्न सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरुमा संयुक्त संघर्षको लहर सृष्टि आह्वान समेत गरिएको छ ।
उक्त निर्णयहरु यसप्रकार छन्ः
१. ५ कम्युनिस्ट पार्टीहरुको संयुक्त संघर्ष समिति चितवन गठन गर्ने,
२. विद्यमान जनविरोधी, अलोकतान्त्रिक, कठपुतली सुशिला सरकार बर्खास्त गरी स्वाधीन संयुक्त जनसरकार र जनसंविधानका लागि चितवन जिल्लाबाट संयुक्त संघर्ष अघि बढाउने,
३. स्वाधीन संयुक्त जनसरकार र जनसंविधान सुनिश्चित नगरी यथास्थितिमा हुने जनविरोधी चुनावको बहिष्कार गर्न आम जनतामा अपिल गर्ने,
४. सार्वभौम राष्ट्रिय स्वाधीनताको रक्षा तथा अग्रगामी राष्ट्रिय निकासका लागि सम्पूर्ण देशभक्त र लोकतान्त्रिक शक्तिहरुमा संयुक्त संघर्षको लहर सृष्टि गर्ने आन्दोलनमा सामेल हुन ।
