रसियाको शानदार जित, साउदी अरेवियाको पोष्टमा ५ गोल
आयोजक रसियाले विश्वकप फुटबलमा शानदार सुरुवात गरेको छ । आज विहीबार साँझ सम्पन्न समुद्घाटन खेलमा रसियाले साउदी अरेवियालाई ५–० अन्तरको फराकिलो अन्तरले पराजित गर्यो ।
मस्कोको लुझनिकी रंगशालामा भएको खेलमा १२ औं मिनेटमा लुरे गजिन्स्कीले सुन्दर गोल गर्दै रसियालाई अग्रता दिलाए । पहिलो हाफको ४३ औं मिनेटमा डेनिस चेरिसिभले आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा २–० को अग्रता बनाएका रसियाले दोस्रो हाफमा थप तीन गोल गर्दै शानदार जित दर्ता गर्यो । साउदीले खेलमा फर्कन धेरै प्रयास गरेपनि रसियाका खेलाडी अगाडि निरिह जस्तै देखिएको थियो । खेलको ७१ औं मिनेटमा अर्टिम डिजुबाले गोल गर्दै रसियाको अग्रता तेब्बर पारे ।
लगातार साउदीको पोष्टमा हावी बनेको रसियाले गोलको प्रयासलाई रोकेन् । थपिएको चार मिनेटमा थप दुई गोल गर्दै रसियाले विश्वकपमा दह्रो दाबेदारी प्रस्तुत गर्यो । ९०१ मिनेटमा डेनिस चेरिसिभले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता चौब्बर पारे । रसिया त्यतिमा मात्रै रोकिएन । थपिएको अन्तिम मिनेट ९०४ मा पाएको फ्रि–किकको बललाई एलेक्सन्डर गोलोविनले सिधै जाली चुमाउँदै रसियालाई शानदार जित दिलाए । खेलमा दुई गोल गरेका डेनिस चेरिसिभ म्यान अफ दि म्याच घोषित भए ।
आजको जितसंगै समूह ‘ए’ रहेको रसिया तीन अंकका साथ समूहको शीर्ष स्थानमा रहेको छ । यस समूहमा रसिया र साउदी अरेवियासंगै उरुग्वे र इजिप्ट रहेका छन् ।
प्रतियोगिता अन्तरगत भोली (शुक्रबार) तीन वटा खेलहरु हुँदैछन् । पहिलो खेलमा समूह ‘ए’ रहेका उरुग्वे र इजिप्ट भिड्ने छन् भने दोस्रो खेलमा समूह ‘बी’ रहेका मोरोक्को र इरान, तेस्रो खेलमा समूह ‘बी’ मा नै रहेका प्रतियोगिताका दाबेदार पोर्चुगल र स्पेन भिड्दैछन् ।