आज शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, कतारमा राति ९:२४ देखी सुरु हुने

आज शुक्रबार राति यो शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दै छ । ३ घण्टा ५५ मिनेट रहने आजको ग्रहण (ब्लड मून) कतारबाट पनि देख्न सकिन्छ ।
कतारमा राति ९:२४ बजे देखी ग्रहण सुरु हुनेछ भने शनिबार बिहान १ बजेर १९ मिनेटमा मात्र चन्द्रग्रहण समाप्त हुनेछ ।
पूर्णिमा तिथिका दिन सूर्य, चन्द्रमा र पृथ्वी एउटा सरल रेखामा पर्दा सूर्य र चन्द्रमा १८० डिग्रीमा हुन्छ । त्यसबेला सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्दछ। त्यस्तो अवस्थामा पृथ्वीको छायाँले चन्द्रमा ढाकिन्छ । पृथ्वी ठूलो भएकाले छायाँले चन्द्रमा पूरै ढाकिने भएकाले यस्लाई खग्रास चन्द्रग्रहण भनिएको हो । आज देखिने खग्रास चन्द्रग्रहण को बेला चन्द्रमा, रगत जस्तै रातो देखिने भएकाले पनि अङ्रेजीमा ‘ब्लड मून’ भनिएको छ ।

कतारलाई राति ८:१५ देखी चन्द्रग्रहणले स्पर्श गर्ने भएता पनि ९:२४ बजे देखी मात्रै चन्द्रग्रहण सुरुहुनेछ र १० बजेर ३० मिनेटमा चन्द्रमा पूरै ढाकिनेछ भने ११:२३ बजे चन्द्रमा र पृथ्वी एकदम नजिक हुनेछन् र शनिबार बिहान ००:१३ मिनेट देखी ग्रहण क्रमशः कम हुँदै शनिबार बिहान १ बजेर १९ मिनेटमा सकिनेछ ।
शुक्रबार राति करीब १ घण्टा ४३ मिनेटसम्म लाग्ने आजको खग्रास चन्द्रग्रहण १०४ वर्ष पछीको सबैभन्दा लामो चन्द्रग्रहण हो ।
सुतक शुक्रबार दिउँसो ११:४०:१६ बजे देखी, शनिबार बिहान १:१८ बजे मात्रै हट्ने
हिन्दू संस्कार मान्ने हो भने चन्द्रग्रहणले स्पर्श हुनुभन्दा नौ घण्टा अघि देखि बाल, वृद्ध र रोगी बाहेकलाई शास्त्रीय रुपमा भोजन निषेध गरिएको छ । ग्रहणको समयमा अझ अरु धेरै कामहरु गर्न निषेध गरिएको छ, जस्तैः कैँचीको प्रयोग, फलफूल टिप्नु, कपडा धुनु, ब्रश गर्नु, गाइभैँसी दुहुनु, सहवास गर्नु, यात्रा गर्नु, सुत्नु , रुख काट्नु आदि जस्ता कार्य ग्रहणको समयमा गर्नु हुँदैन । गर्भवती महिलाले त झन् आराम गर्नुपर्दछ र ग्रहण हेर्नु हुँदैन । ग्रहण हेरेमा गर्भको बच्चामा नकारात्मक प्रभाव पर्ने शास्त्रमा उल्लेख छ ।
ग्रहण लागेका बेला हवन, मन्त्र जप, मन्त्र लिने, मन्त्र सिद्धि गर्ने, दान गर्नेलगायत धार्मिक काम गर्न शुभ मानिन्छ ।
चन्द्रग्रहण फाप र अफाप हुन्छन् यो पाली को चन्द्रग्रहण मेष राशि भएकालाई सुख, वृषलाई माननाश, मिथुनलाई कष्ट, कर्कट स्त्री पीडा, सिंह सुख, कन्या चिन्ता, तुला व्यथा, वृश्चिक स्त्री प्राप्ति, धनु क्षति, मकर घात, कुम्भ व्यय र मीन राशि भएका मानिसलाई लाभ मिल्नेछ ।
यस आधारमा शुक्रबार रातिको चन्द्रग्रहण मेष, सिंह, वृश्चिक र मीन राशि भएकाले हेर्नु हुनेछ भने अन्य आठ राशि भएकाले हेर्न नहुने भनाइछ ।