विप्लव माओवादीका प्रवक्तासहित ३ जनालाई पाँच दिन थुनामा राख्न अदालतले दियो अनुमति

काठमाडौं जिल्ला अदालतले नेकपा (विप्लव)का प्रवक्ता खड्गबहादुर विक ‘प्रकाण्ड’ सहित ३ जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
बुधबार अपरान्ह जिल्ला अदालत काठमाडौंमा लगिएका प्रकाण्डलाई थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई अनुमति दिइएको हो।
उनीसहित ३ जनालाई मंगलबार साँझ काठमाडौंको चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको थियो।
गत वर्ष स्थानीय र आमचुनावमा विभिन्न स्थानमा हिंसा भड्काएको र चन्दा असुली गरेको उजुरीको अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो।
उनीसँगै पक्राउ पर्नेमा स्वकीय सचिव मनबहादुर श्रेष्ठ र चालक हरिशचन्द्र आचार्य पनि रहेका छन्।
उनीहरूबाट बरामद कागजात हेर्दा ७ करोड रूपैयाँ चन्दा उठाएको देखिएको प्रहरीले जनाएको छ।
तत्कालीन माओवादी पार्टीका पोलिटब्युरो सदस्य रहेका विश्वकर्मा पूर्वमन्त्री समेत हुन्।