नेपालमा संक्रमितको संख्या ३२, उदयपुरमा देखियो कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार उदयपुरका एकजनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको हो ।
उदयपुरका ३३ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । उदयपुरबाट सोमबार १ सय सहित ३ सय २० वटा नमुना पिसिआर परीक्षणका लागि संकलन भएका छन् ।
नेपालमा हालसम्म पिसिआर विधिबाट ८ हजार ७ सय ६३ नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा मा ३ सय ३३ वटा परीक्षण भएका छन् । यसैगरी आरडिटी विधिबाट अहिलेसम्म २७ हजार ९ सय ५६ र २४ पछिल्लो घण्टामा २ हजार ८ सय ८ परीक्षण भएका छन् । अहिलेसम्म दुबै विधिबाट गरी जम्मा ३६ हजार ७ सय १९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर १ मा आरडिटी विधिबाट २ हजार ६ सय २०, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ९८ र बागमती प्रदेशमा ५ हजार १ सय ५७ नमुना परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार १ सय ८३, प्रदेश नम्बर ५ मा २ हजार ४ सय ८३ कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ र सुदुरपश्चिममा ६ हजार १ सय ७७ परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
अहिले देशभरी नै क्वारेन्टाइनमा ७ हजार ६७ जना रहेका छन् । उपत्यकामा ६ जना र उपत्यका बाहिर १ सय १ गरी १ सय ७ जना आइसोलेसनमा रहेका छन् ।