कतारले टर्कीमा ५५ बिलियन रियाल लगानी गर्ने

क्युएनए
कतारले टर्कीमा ५५ बिलियन रियालको लगानी गर्ने भएको छ। हालसालै टर्की भ्रमण गर्नुभएका कतारी अमिर शेख तमिम विन हमाद अल थानीले त्यहाँको आर्थिक विकासमा सहयोग पुर्याउन कतारी लगानीको निर्देशन दिनुभएको हो। बुधबार राष्ट्रपति भवनमा अमिर तथा त्यहाँको राष्ट्रपति ट्ययिप इरदोगन बीच बसेको बैठक पश्चात उक्त निर्णय आएको हो।

उक्त अवसरमा अमिर र राष्ट्रपति इरदोगनद्वारा दुई देश बीचको सम्बन्ध बारे छलफल गरिएको थियो। छलफलमा सम्बन्ध सबै क्षेत्र विशेषगरी आर्थिक तथा लगानी क्षेत्रमा थप विस्तार गर्ने सहमतिका साथै खाडी तथा अन्तराष्ट्रिय क्षेत्रको पछिल्लो अवस्था बारे विचार साटासाट गरिएको थियो। त्यस्तै खाडी क्षेत्रको शान्ति कायम गर्न कुटनीतिक माध्यबाट वार्ता मार्फत नै हुनुपर्ने अडान दुवै तर्फ बाट भएको छ। अमिरलाई साथ दिन उच्च कतारी पदाधिकारीहरु मंगलबार टर्की पुगेका थिए।
राष्ट्रपति इरदोगनको निमन्त्रणामा अमिर अल थानी भोजन समारोहमा समेत सामेल हुनुभएको थियो। अमिर हिजो बुधबार कतार फिर्ता हुनुभएको छ।
नाकाबन्दीको अवस्था सिर्जना भएपछि कतार र टर्कीको सम्बन्ध झन् प्रगाढ हुँदै गएको छ। नाकाबन्दीको समयमा टर्कीले रातारात खाद्य तथा निर्माण सामग्री पठाएर ठूलो सहयोग गरेको थियो। हाल अन्तराष्ट्रिय स्तरमा टर्कीको आर्थिक अवस्था खस्केको बेला कतारले लगानीको सहायता गरेको हो। कतारी तथा त्यहाँको सेन्ट्रल बैंकको सहयोगले खस्केको टर्की लिरा(पैसा) ६ प्रतिशतले उकालो लागेको गार्जियन पत्रिकाले लेखेको छ।