पाकिस्तानमा इमरान खानद्धारा प्रधानमन्त्रीको सपथ ग्रहण: के के छन् त नेपाली नेताले लिनुपर्ने शिक्षा ?

किस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गरेका छन् ।
मुलुकको सबै भन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी भएका खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री बनेका छन्। प्रधानमन्त्री बन्नका लागि आवश्यक पर्ने १७२ मत मध्ये प्रतिनिधिसभामा शुक्रबार भएको निर्वाचनमा खानले १७६ मत पाएपछि उनलाई शनिबार सपथ ग्रहण गराइएको हो ।
खानका प्रतिश्पर्धी तथा पाकिस्तान मुस्लिम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका शाहबाज शरिफले भने ९६ मत मात्रै प्राप्त गरेका थिए । सपथग्रहण समारोहमा उच्च पदस्थ व्यक्ति, विदेशी पाहुनाहरुसँगै उनकी श्रीमती बुशरा मेनका पनि सहभागी भएको समाचारमा जनाइएको छ ।
खानले आफ्नो मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत जुलाई २५ तारिखमा पाकिस्तानमा भएको आमनिर्वाचनबाट पूर्वक्रिकेटर खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआर्इ)ले ११४ स्थानमा जित हासिल गरेर सवै भन्दा ठूलो पार्टी भएको छ ।
सरकार गठनका लागि आफूले मात्रै बहुमत प्राप्त नगरेकाले उनले गठबन्धन सरकार बनाउनु पर्ने भएको छ ।
विपक्षीहरुले अस्विकारेकाले विवादका बीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।
सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले प्रधानमन्त्री बनेका हुन् ।
देशमा भ्रष्टाचारविरोधी अभियान चलाउँछुः इमरान खान
यसैबीच शुक्रबार पाकिस्तानको संसदद्धारा प्रधानमन्त्रीमा निर्वाचित र आज सपथ खानु भएका इमरान खानले देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने बताएका छन् । उनले भने, ‘मैले विगतदेखि नै पाकिस्तानमा व्याप्त भ्रष्टाचार विरोधी अभियान चलाएको हो र अब देशको नेतृत्व गरेपछि पनि मैले यसलाई थप गति दिनेछु । ’पाकिस्तानी संसदले शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेपछि उनले देशमा भ्रष्टाचार गर्ने र राष्ट्रको सम्पत्ति लुट्ने कुनै पनि मानिसलाई आफूले नछोड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले पाकिस्तानमा आफूले परिवर्तन ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।
पाकिस्तान नयाँ मुस्लिम राष्ट्रका रुपमा स्थापना भएदेखि नै पाकिस्तानी जनताले स्थायीत्व र सुशासनको लागि प्रतिक्षा गरेपछि गएका ७१ वर्षमा त्यो सम्भव नभएको भन्दै आफूले देशवासीको परिवर्तनको चाहनालाई पूरा गर्ने बताए । उनले आफू राजनीतिक परिवारको सदस्य नभएको स्पष्टगर्दै भने, न मैले र नत मेरा बुबा या परिवारका अरु कुनै सदस्यले राजनीति गरेका थिए तर मैले भने पाकिस्तानमा निरन्तर २२ वर्षदेखि राजनीतिमा सक्रिय भएर जनताको सामु केही बाचा गरेको छु । जनतासमक्ष गरेका यिनै बाचाहरुले नै आफूलाई पाकिस्तानी नागरिकले सत्तामा पु¥याएका हुन् भन्दै अब उनीहरुका लागि र देशका लागि पनि मैले केही गर्छु भनेर लागेको छु, उनले भने ।
पाकिस्तानमा अहिले भ्रष्टाचार व्यापक मात्रामा मौलाएको छ भन्दै यसका कारण जनतामा निराशा छाएको र देशको आर्थिक अवस्था पनि झन कमजोर हुदै गएकोले आफूले भ्रष्टाचार विरोधी अभियानमा लाग्ने निधो गरेको उनले बताए ।
आफ्नो यही बाचाका कारण नै पाकिस्तानी नागरिकले आफूलाई मत दिएर जिताएको र देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि दिलाएको जानकारी दिए। राजनीतिक परिवारबाट नआएका पूर्व क्रिकेटर खानको नेतृत्वलाई पाकिस्तानमा नयाँ आशाका रुपमा लिइएको छ ।
नेपाली राजनीतिले खानबाट लिनुपर्ने शिक्षा
पाकिस्तानमा आलोपालो गरी सरकार चलाइरहेका दुवै रैथाने ठूला पार्टी मुस्लिम लिग र पिपुल्स पार्टीलाई सत्ताच्युत गर्दै पूर्वक्रिकेट कप्तान इमरान खानको इन्साफ पार्टीले सबैभन्दा ठूलो संसदीय दल बनेर सरकार बनायो। जस्तो सुकै परिस्थितिमा पनि राष्ट्रलाई आवश्यकता पर्दा चाहे खेलबाट होस् वा राजनीतिबाट होस् उनले महत्वपूर्ण भूमिका निभाए । पूराना संसदीय पार्टीहरुलाई पाखा लगाए । उनले भष्ट्राचार नियन्त्रणमा देखाएको प्रतिबद्धता पूरा हुन्छ वा हुँदैन त्यो त हेर्न नै बाँकी छ तर पनि उनले पाकिस्तानीको माझमा कहिल्यै भ्रष्टाचार नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यसमा कुनै सन्देह छैन। २०१८ को चुनावको केही समय अगाडि “लाहोर जल्सा” अर्थात र्यालीमा उनले पाकिस्तानी जनतालाई चार आग्रह गरे। जसले उनको राजनेता बन्न सक्ने क्षमता दर्शाउँछ। लाहोर जल्सामा उनले गरेका चार आग्रह :
१) हामी कहिलै झुटो नबोलौं, सदैब सत्य बोलौं।
२) हामी अहम् त्यागौं र राष्ट्रको बारेमा सोचौं। जहाँ ११ करोड मानिस गरिवीको रेखामुनि जीवन व्यतित गर्द्छन्।
३) हामी डरको साग्लो तोडौं।
४) हामी न्यायपूर्ण समाज स्थापना गर्न लागौं। यदी हाम्रो आफन्तले पनि अन्याय गर्दछ भने उसलाई पनि न्यायको काठघरामा ल्याऔँ।
लोकतन्त्र र सामाजिक न्यायको सुन्दर अभिव्यक्ति थियो त्यो अभिव्यक्ति नेपालका राजनीतिक दलका नेताहरुले पनि आत्मसाथ गर्न सके देश पक्कै बदलिने छ । अहम् र आसेपासेको लागि मात्र राजनीति गर्ने परम्पराले नेपालीको परिवर्तन र समृद्धिको सपना पूरा हुन नसकेको हो । – नारायणी अन्लाईन /एजेन्सीहरुको सहयोगमा