एसियाली खेलकुद : प्याराग्लाइडिङमा दोस्रो स्थानमा उक्लियो नेपाल, स्वर्ण पदककै सम्भावना

काठमाडाैं – इण्डोनेसियाको जाकार्तामा अघिल्लो साताको शनिबारदेखि सुरु भएको १८औं एसियाली खेलकुदमा नेपाली खेलाडीको लगातारको खराव प्रदर्शनले समर्थक निराश बनिरहेका छन् । तर, मंगलबार एउटा उत्साहजनक खबर आएको छ कि प्याराग्लाइडिङ टोलीले नेपालको पदक खडेरी तोड्न सक्छ ।

प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीतर्फ चौथो चरणसम्म नेपाली टोली दोस्रो स्थानमा उक्लिएको छ । पदकको आशा गरिएको नेपाली टोली पहिलो र दोस्रो चरणमा तेस्रो स्थानमा थियो । तर, सोमबार भएको तेस्रो चरणको खेलमा नेपालको प्रदर्शन अपेक्षाकृत केही कमजोर रहँदा चौथो स्थानमा झरेको थियो ।

पदकको आशा गरिएको तेक्वान्दो, कराते र बक्सिङ पदकविहीन भइरहँदा एकमात्र आशाको रुपमा रहेको प्याराग्लाइडिङले नेपाली समर्थकलाई पुनः उत्साहित बनाएको छ ।

प्याराग्लाइडिङको पाँचौं तथा अन्तिम चरणको खेल बुधबार हुनेछ ।

खेलस्थलमा रहेका नेपाली टोलीका प्रशिक्षक तथा व्यवस्थापक योगेश भट्टराईले दिएको जानकारी अनुसार नेपालले स्वर्ण जित्ने सम्भावना पनि छ । चौथो चरणसम्म नेपालभन्दा अगाडि जापानमात्र छ ।

प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीमा पाँच खेलाडी हुनेछन् । उनीहरुलाई २५ किलोमिटरको टाक्स दिइएको हुन्छ । हरेक खेलाडीले १००० पूर्णांकको टाक्समा प्रतिस्पर्धा गर्नेछन् । चौथो चरणको खेलमा नेपालका तीन खेलाडीले टास्क पूरा गरेका कारण नेपाल दोस्रो स्थानमा उक्लिएको हो ।

यसअघिका दुई चरणमा दुई खेलाडीले मात्र टास्क पूरा गरेका थिए भने दोस्रो चरणको खेलमा प्रतिकुल मौसमका कारण सहभागी कुनै पनि खेलाडीले टास्क पूरा गर्न सकेका थिएनन् ।

दोस्रो स्थानमा रहेको नेपालको अहिले करिब ३ हजार अंक छ । तर, यो आधिकारिक होइन । इण्डोनेसियाबाट नेपाली प्रशिक्षक भट्टराईले भने, ‘हामीभन्दा जापान केही अंकले मात्रै अगाडि छ, आजकै जस्तो प्रदर्शन निरन्तरता हुने हो भने हामी स्वर्णकै हकदार हुन्छौँ ।’

यद्यपि नेपालले पदक जित्ने निश्चित भइसकेको चाहिँ होइन । तर, यही लयलाई निरन्तरता दिँदा बिहीबार नेपाली खेलकुदका लागि ऐतिहासिक दिन बन्न सक्छ । नेपालले एसियाली खेलकुदमा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन ।

प्याराग्लाइडिङमा पुरषतर्फ नेपालका पाँच खेलाडी छन् । टिमको नेतृत्व अनुभवी पाइलट बिमल अधिकारीले गरेका छन् भने युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button