चितवनमा बेच्न राखिएको कुखुरामा नै बर्डफ्लु भेटियो

चितवनको कुखुरामा फेरी बर्डफ्लु देखिएको छ । चितवनमा पसलमा बेच्न राखिएको कुखुरामा नै बर्डफ्लु भएको पुष्टि भएको हो । भरतपुर महानगरपालिका वडा नम्बर ६ देवनगर स्थित मयुरी कटेजमा पालिएको हाँस तथा कुखुरामा बर्डफ्लु देखिएको छ । कटेजमा थोरै संख्यामा पालिएको कुखुरा तथा हाँस बिरामी भएर परिक्षण गर्दा बर्डफ्लु भएको पुष्टि भएको हो ।
भरतपुरको राष्ट्रिय पंक्षी रोग प्रयोगशालामा परिक्षण गर्दा इन्फ्लुएन्जा पोजिभिट देखीएपछि थप परिक्षणको लागि मंगलबार काठमाण्डौको केन्द्रिय प्रयोगशाला पठाइएकोमा बुधबार बेलुका बर्डफ्लु भएको पुष्टिको रिर्पोट आएको जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख डा चेतनारायण खरेलले जानकारी दिए ।
त्यस्तै भरतपुर महानगरपालिका २ को बालकुमारी सब्जी मण्डीमा बेच्नको लागी राखिएको कुखुरामा समेत बर्डफ्लु देखिएको छ । मंगलबार नै सब्जी मण्डीमा रहेको १० वटा मासु पसलबाट १२ वटा नमुना संकलन गरी परिक्षणको लागि काठमाण्डौ पठाइएकोमा एउटामा बर्डफ्लु देखिएको डा खरेलले बताए ।
उक्त दुवै स्थानको हाँस तथा कुखुरा आज चिकित्सक सहितको टोलीले नष्ट गरेको छ । केहिदिन अघिमात्रै चितवनमा बर्डफ्लु देखिएको थियो । चितवनमा खैरहनी क्षेत्रमा बर्डफ्लु पुष्टि भएसँगै उक्त क्षेत्रको करिब १२ हजार कुखरा नष्ट गरिएको थियो । रासस
चेतना आवश्यक
बर्डफ्लुको मानव संक्रमणको स्थितिलाई दृष्टिगत गरी यो संक्रमण देखिएको क्षेत्रमा वा संक्रमित कुखुराजन्य पदार्थको प्रत्यक्ष सम्पर्कमा रहनेहरूमा रुघाखोकी देखिए अलि बढी सचेत रहनुपर्छ ।
यस्ता क्षेत्रमा बस्ने वा संक्रमित कुखुराहरूको प्रत्यक्ष सम्पर्कमा रहनेहरूमा रुघाखोकीको कडा लक्षण देखिए नजिकको स्वास्थ्य निकायमा गइहाल्नुपर्छ ।
सामान्य रूपले साबुनपानीले नियमित रूपमा हात धुने बानीले बर्डफ्लुलगायतका थुप्रै संक्रामक रोगबाट जोगिन सकिन्छ । रुघाखोकी लागेकाहरू खोक्दा, हाच्छिउँ गर्दा मुखमा रुमाल राख्नेलगायतका सावधानीका उपाय अपनाउनु आवश्यक हुन्छ ।
रुघाखोकीलगायतका संक्रमणबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हात धुनु रहेको अनुसन्धानले समेत देखाएको छ । रुघाखोकीको कीटाणु सासका माध्यमले त्यति फैलिँदैन जति हातका माध्यमले फैलिन्छ । यसले हातको माध्यमले अनुहारमा, आँखा, नाक, कान र मुखको माध्यमले हाम्रो शरीरमा हमला गर्छ ।
यस्तै, खानुअघि पोल्टी उत्पादन र अण्डा राम्ररी पकाउनुपर्छ । कुखुरालगायतका पक्षीजन्य मासु कम्तीमा ७४ डिग्री तापक्रममा पकाइएको हुनै पर्छ ।
कुखुराजन्य पदार्थ र अण्डालाई छुनु अघि र पछि न्युनतम २० सेकेन्डसम्म साबुनपानीले हात धुनुपर्छ । कुखुराजन्य उत्पादनबाट अन्य खाद्य पदार्थलाई जोगाउन कटिङ बोर्ड र अन्य भाँडालाई साबुन र तातो पानीले धुनुपर्छ । अण्डालाई भने त्यतिखेरसम्म पकाउनुपर्छ जबसम्म पहेलो भाग ठोस हुँदैन ।
रोगको प्रबन्धन
बर्डफ्लुको शंका लागे तत्काल चिकित्सककहाँ गएर आफ्नो समस्याबारे भन्नुपर्छ । शंकास्पद रोगीले मास्क लगाउनुपर्छ । त्यसो गर्नु भनेको आफूनजिक आएका अन्य सामान्य व्यक्तिमा हुन सक्ने संक्रमणको जोखिम कम गर्नु पनि हो ।
बर्डफ्लु संक्रमित बिरामीहरूले पर्याप्त आराम गर्नुका साथै तरल पदार्थ निकै सेवन गर्नुपर्छ । यसमा अन्य सहयोगी उपचारसमेत दिइन्छ । उपचारमा केही एन्टिभाइरल औषधिसमेत प्रभावकारी मानिएको डा. योगी बताउँछन् । – कान्तिपुर