अब विदेशी नागरिकले कतारको पीआर पाउने

अमिर शेख तमिम विन हमाद अल थानी ले हिजो स्थायी आवास परमिट सम्बन्धी २०१८ को कानून नम्बर १० जारी गर्नुभएको छ। नियम अनुसार आवश्यक मापदण्ड पुरा गरी विदेशी नागरिकले पनि कतारको स्थायी बसोबास अनुमति पत्र (पीआर) पाउने भएको छ।
पीआर पाउने नागरिक र उनीहरूको १८ वर्ष भन्दा कम उमेरको सन्तानले सरकारी स्वास्थ्य संस्था,कार्यालय,विद्यालय,आवास आदि सेवाको फाइदा लिन पाउनेछन्। त्यस्तै मन्त्रालयले तोकेको क्षेत्रमा कतारी पार्टनर बिना नै आफ्नो व्यवसाय गर्न पाउनेछन्।

जारी गरिएको कानून अन्तर्गत कतारको स्थायी बसोबास परमिट प्राप्त गर्न आप्रवासी नागरिकले निम्न मापदण्ड पूरा गर्नुपर्नेछ :
- वैधानिक आवासीय परमिट (आईडी) बोकेर कतारमा २० वर्ष भन्दा बढी बिताएको हुनुपर्नेछ। कतारमै जन्मेका आप्रबासीको हकमा भने १० वर्ष बढी बिताएको हुनुपर्नेछ। त्यस्तै निवेदन दिने समय अगावै निवेदकले तोकिएको वर्ष पूरा गरिसकेको हुनुपर्नेछ।
निवेदकले विगतमा हरेक वर्ष कतार बाहिर र निवेदन दिइसकेपछि ६ महिना भन्दा बढी बसेको खण्डमा भने सो समय जोडिने छैन।
- आफ्नो परिवार पाल्न निवेदकको पर्याप्त आयश्रोत हुनुपर्नेछ। निवेदकको न्युनतम आयस्रोत मन्त्रालयले पछि तोक्नेछ।
- निवेदकको व्यवहार राम्रो हुनुपर्ने र कुनै पनि आपराधिक क्रियाकलापमा सहभागी भएको हुन नहुने।
- निवेदकलाई अरबी भाषाको प्रयाप्त ज्ञान हुनुपर्ने।
- विदेशी सँग विवाह भएको कतारी महिला, उनको सन्तान, कतारी नागरिकको विदेशी श्रीमती,उनीहरूको सन्तान लगायत देशलाई आवश्यक अन्य उत्कृष्ट प्रतिभा भएकाहरूले माथिको १ र २ को प्रक्रिया पूरा गरी स्वत पीआर पाउनेछन्। त्यस्तै कतारी महिला सँग विवाह भएको विदेशी नागरिकलाई भने माथीको १,२ र ३ को प्रक्रिया लागू हुनेछ।
जारी नियम अनुसार निवेदनको छिनोफानो गरी प्रक्रिया पूरा गर्न आन्तरिक मन्त्रालय अन्तर्गत ‘स्थायी आवास परमिट’ नामको स्थायी समिति बनाइनेछ। समितिले आन्तरिक मन्त्रालय सँग समन्वय गरी कार्य गर्नेछ। मापदण्ड पूरा भएका विदेशी नागरिकलाई आन्तरिक मन्त्रालयले कतारको पीआर प्रदान गर्नेछ। साथै हरेक वर्ष एक सय भन्दा कमले मात्र पीआर पाउनेछन्।
तर २५ वर्ष सम्म पनि न्यूनतम पढाई पुरा नगरेका र तोकिएको वर्ष सम्म विवाह नभएका महिलाको भने पीआर रद्द हुने नियममा उल्लेख छ।