नेपालले भुटानलाई ४-० ले हरायो, सेमिफाइनल आशा जिवितै

बंगलादेशमा जारी साफ च्याम्पियनसिप २०१८ अन्तर्गत आफ्नो दोस्रो खेलमा भुटानलाई फराकिलो अन्तरमा हराउँदै नेपालले सेमिफाइनल यात्रा जिवितै राखेको छ।
ढाकाको बंगबन्धु रंगशालामा बिहिबार भएको खेलमा नेपालले भुटानलाई ४-० को फराकिलो अन्तरमा हराएको हो।
नेपालको जितमा अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन खड्काले १-१ गोल गरे।
पहिलो हाफमा १-० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा थप तीन गोल गरेको हो।
खेलको २१ औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरूवाती अग्रता दिलाएका थिए। सुनील बलको कर्नरमा अनन्तले हेडरमार्फत् गोल गरेका थिए।
दोस्रो हाफको ७० औं मिनेटमा पाएको पेनाल्टी बिमल घर्तीमगरले मिस गरेका थिए। बिमलको पेनाल्टी प्रहार किपरबाट फर्किएपछि सुनिलले ७१ औं मिनेटमा त्यसलाई गोलको दिशा दिएका थिए।
निराजन खड्कालाई भुटानी खेलाडी निमा वाङ्दीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। विमल घर्तिमगरको पेनाल्टीलाई छिरिङ डेन्डुपले रोकेपछि त्यही रिबाउन्डमा सुनिलले गोल गरेका थिए।
७१ औं मिनेटपछि निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी समिति भएको थियो।
यस्तै खेलको ७६ औं मिनेटमा मैदान छिरेका भरत खवासले त्यसको ३ मिनेटमै नेपालका लागि तेस्रो गोल गरे।
यस्तै खेलको ८८ औं मिनेटमा निराजन खड्काले चौथो गोल गर्दै नेपाललाई फराकिलो अन्तरको जित दिलाए। सुनिलको कर्नरमा नीराजनले हेड गरेका थिए। नीराजन विशाल राईको ठाँउमा ६३ औं मिनेटमा मैदान प्रवेश गरेका थिए।
आजै हुने अर्को खेलमा पहिलो खेल जितेका दुई टोली आयोजक बंगलादेश र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। त्यो खेलको नतिजाले पनि नेपालको अघिल्लो चरणको यात्रामा प्रभाव पार्नेछ।
आजको जितसँगै समूह ए रहेको नेपाल ३ अंकसहित शीर्ष स्थानमा पुगेको छ। पहिलो खेलमा पाकिस्तानसँग पराजित नेपालले अब समूहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ।