मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ जना नेपालीको मृत्यु, ९ जना गम्भीर

मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म ६ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् ।
उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेशियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिएको राससले जनाएको छ ।
मलेशियास्थित सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको उनले बताए । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ । त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक/एक जनाको उपचार भइरहेको छ ।
मलेशियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए । मदिरा सेवनका कारण स्थानीय, बंगलादेशी र भारतीय केही कामदारको पनि मृत्यु भएको त्यहाँको सञ्चारमाध्यम द स्टारले जनाएको छ ।
मृत्यु भएका मध्ये एक आइते सिंह रहेका छन् । उनकी श्रीमति पनि मलेसियामा कार्यरत रहेको द स्टारले जनाएको छ । सिंहकी श्रीमति डोल्मो मायाका अनुसार यो घटना एकदमै छिटो भएको छ । अघिल्लो राति मदिरा सेवन गरेर श्रीमान ढिला घरमा फर्किएको उनले बताएकी छन् ।
