कतारले सन् २०२२ भित्र विद्युतीय कार उत्पादन गर्ने

कतारले सन् २०२२ सम्ममा पहिलो लटको विद्युतीय कार उत्पादन गर्ने भएको छ। जम्मा ९ बिलियन अमेरिकी डलरको योजनामा जापानको एआरएम कम्पनी सँगको सहकार्यमा कतार क्वालिटी ट्रेडिङ कम्पनीले सो प्रकारको कार उत्पादन गर्ने जिम्मा लिएको छ।
कतारा नाम दिइएको सात सय हर्स पावर बराबरको रहने कारले १० मिनेटको चार्जमा एक हजार किलोमिटर सम्मको रेन्ज दिने आजको गल्फ टाइम्सले लेखेको छ।
कार उत्पादनको लागि नयाँ औद्योगिक क्षेत्रमा ६.५ वर्ग किलोमिटर क्षेत्रफलमा १२ उत्पादन प्लान्ट भएको ६ वटा उद्योग सञ्चालन गरिनेछ।

हिजो भएको पत्रकार सम्मेलनमा बोल्दै जापानी कम्पनी एआरएमका प्रमुख तकायुकी हिरियमाले पहिलो लट पछिको तीन वर्ष भित्र पाँच लाख कार र २०३५ को अन्त्य सम्म १० लाख कार उत्पादन गर्ने लक्ष्य रहेको बताएका छन्।
त्यस्तै गल्फ टाइम्स पत्रिका सँग बोल्दै कतारी कम्पनीका प्रमुख मुसा रमादनले पहिलो १० कार जापानमा उत्पादन हुने बताएका छन्। उत्पादन कार्य अगाडि बढ्न साथ कम्पनीले १० मिनेटमा एउटा कार बनाउने लक्ष्य राखेको छ। योजना अनुसार काम सफल भए कतारले फिफा विश्वकपको अवसरमा आफ्नो विद्युतीय कारको प्रदर्शनी गर्नेछ।