विदेशबाट कसरी झिकाउने शव ?

मलेशियाको सेलांगोर राज्यको विभिन्न स्थानमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने ७ नेपालीमध्ये २ जनाको पोस्टमर्टम रिपोर्ट बनिसकेको छ । स्थानीय प्रहरीले विषाक्त मदिराका कारण मृत्यु भएका रुपन्देही मसिना–६ का रामकुमार यादव र सर्लाही पत्थरकोट–६ का आइतसिंह गोलेको पोस्टमर्टम रिपोर्ट तयार पारिसके पनि नेपाली दूतावासलाई भने उपलब्ध गराएको छैन । तर, यो रिपोर्ट तयार भएसँगै उनीहरुको शव नेपाल पठाउन भने दूतासावसलाई बाटो खुलेको छ । 

 

“विषाक्त मदिरा सेवन गर्दा बिरामी भई उपचारका क्रममा मृत्यु भएका दुईजना नेपालीको सम्पूर्ण अनुसन्धान कार्य सकिएको छ । अब उनीहरुको शव नेपाल पठाउन मिल्छ,” मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमार खरेलले भने । 

 
 

 

विदेशमा मृत्यु हुनेको शव नेपाल पठाउन दूतावासले केही पक्रिया पुर्याउनुपर्छ । पोस्टमर्टम रिपोर्ट आएलगत्तै आफूखुसी शव नेपाल पठाउन सक्दैन दूतावासले । यसका लागि नेपालमा रहेका पीडितका परिवारले सुरुमा कदम चाल्नुपर्ने हुन्छ । “पोस्टमर्टम रिपोर्ट तयार नहुन्जेलसम्म शव नेपाल पठाउन मिल्दैन । रिपोर्ट बनेर स्थानीय प्रशासनले हामीलाई जानकारी दिएपछि मात्र शव पठाउने प्रक्रिया सुरु गर्नसक्छौं,” राजदूत खरेलले बताए । 

 

उनका अनुसार नेपालमा शव बुझ्ने मान्छे तयार नहुन्जेलसम्म नेपालमा शव पठाउन मिल्दैन । पीडितका परिवार शव बुझ्न तयार भएपछि मात्र प्रक्रिया अघि बढ्छ । शव बुझ्नेले पीडित परिवारको मन्जुरीनामा र मृत्यु हुनेसँगको नाता प्रमाणित हुने कागजात तयार पार्नुपर्छ । यो काम पीडित परिवार र सम्बन्धित वडा कार्यालयबाट गराउनुपर्छ । 

 

आवश्यक कागजात तयार गरेपछि पीडितका परिवारले तीन ठाउँबाट शव रहेको राष्ट्रस्थित नेपाली दूतावासलाई पत्राचार गर्न सक्छन् । “शव बुझ्नको लागि नाता खुल्ने कागज र मन्जुरीनामापत्र काठमाडौंस्थित परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तह गरी तीन ठाउँबाट सिधै दूतावासको इमेल ठेगानामा पठाउन सकिन्छ । कागजात प्राप्त हुनेबित्तिकै दूतावासले शव बुझ्नको लागि अनुमति दिन्छ,” कार्यवाहक राजदूत खरेलले जानकारी दिए । 

 

शव सम्बन्धित देशबाट जहाजमा नेपाल पठाइन्छ भने पीडित परिवारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शव बुझ्नुपर्ने हुन्छ । अघिल्लो आर्थिक वर्ष २०७४–०७५ मा वैदेशिक रोजगारको सिलसिलामा विदेशमा मृत्यु भएका ६ सय ८६ जना नेपालीको शव नेपाल ल्याइएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ? प्रतिक्रिया दिनुहोस् !
मनपर्‍यो
0
मनपर्‍यो
खुसी लाग्यो
0
खुसी लाग्यो
दुःख लाग्यो
0
दुःख लाग्यो
रुन मन लाग्यो
0
रुन मन लाग्यो
हाँसो लाग्यो
0
हाँसो लाग्यो
रीस उठ्यो
0
रीस उठ्यो
Back to top button